लमजुङ – प्रतिनिधिसभा निर्वाचन नजिँकिँदै गर्दा लमजुङमा विकास निर्माणको जस लिन हानथाप सुरु भएको छ ।
नेकपा एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले लमजुङमा आफुले गरेका कामको दाबी गर्दै सामाजिक सञ्जालहरुमा विभिन्न पोष्टहरु पोष्टाइरहेका छन् । उनले विकासको जस आफुले लिन पोष्ट गरेको उक्त पोष्टमा लमजुङ मध्यनेपाल नगरपालिका प्रमुख रमेश कुमार पाण्डेले आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जालमा पोष्ट गर्दै मेयर पोण्डेले भनेका छन् ‘राजनीति गर्दा कसैलाई दोषारोपण गर्ने बानी छैन, केही भएमा म अगाडि नै कुरा राख्ने क्षमता राख्छु । उनले लेखेका ‘सत्य जे हो, त्यो सत्य नै हुन्छ । केही समय ओझेल पर्ला तर सत्य परिवर्तन हुँदैन ।’
उनले पृथ्वीसुब्बा गुरुङले आफ्नो कामको सूचीमा समेटेको मध्यनेपाल नगरपालिका–३ स्थित चर्दी खोलाको पुल निर्माणको विषयमा स्पष्टिकरण दिँदै उक्त पुल मध्यनेपाल नगरपालिकाले आफै निर्माण गरेको दाबी गरेका छन् । पुल निर्माणको क्रममा आफूले धेरै आलोचना खेप्नुपरेको तर, निर्माण सम्पन्न भएपछि धन्यवाद दिनेहरू भने, खासै नदेखिएको समेत उल्लेख गरेका छन् ।
मेयर पाण्डेले नेपालको राजनीतिमा कामभन्दा पनि हल्लामा विश्वास गर्ने प्रवृत्ति रहेको टिप्पणी गर्दै बहुदल आएपछि मात्रै मध्यनेपाल नगरपालिकाभित्र १४ वटा पक्की पुल निर्माण भएको तथ्य सार्वजनिक गरेका छन् । उनले प्रश्न गर्दै भनेका छन् ‘यसलाई विकास भन्ने कि के भन्ने ? उनले योजनाको श्रेय लिने विषयमा समेत प्रश्न उठाएका छन् ।
यस्तै मेयर पाण्डेकै सोहि पोष्टमा गण्डकी प्रदेशकी पूर्व स्वास्थ्यमन्त्री एवं तत्कालिन नेकपा माओवादी केन्द्रका नेतृ मधु अधिकारी गुरुङले सदरमुकाम बेसीशहर स्थित लमजुङ अस्पताल २०७९ कात्तिक ३ गते एचडिएसिएसबाट ल्याइ सरकारले चलाएकोमा पिएस मुख्यमन्त्री हुँदा ल्याएको भनी ढाट्न सुरु भएछ भन्दै कमेन्ट मार्फत ब्यङ्ग गरेकी छन् ।
यो त प्रतिनिधि उदाहरणका पात्र हुन् । चुनाव नजिकिएसँगै विकासमा जस लिएर अपजसबाट पन्छिने धेरै नेताहरुको पुरानै प्रयास हो । जनताका चाहना र विकासका प्राथमिकता बारे सांसद र स्थानीय तहका प्रमुखहरूबीच स्पष्ट बहस नहुनु र राजनीतिक दलहरूले विगतमा अपेक्षित विकास गर्न नसकेका कारण पनि हुन् ।
बजेट र नीति निर्धारणमा राजनीतिक स्थिरता, नीतिगत स्पष्टता र नागरिकको आवश्यकतालाई प्राथमिकता दिन नसक्नु अर्को कारण देखिन्छ ।






