लमजुङको जनकल्याण सहकारी ठगी प्रकरण: कार्यपालिका सदस्य बगालेसहित ३ जना दोषी ठहर, साढे ८ करोड बिगो भराउन आदेश

लमजुङ - बेसीशहरस्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा जिल्ला अदालत लमजुङले मर्स्याङ्दी गाउँपालिकाकी कार्यपालिका सदस्य मधुमाया बगालेसहित तीन जनालाई दोषी ठहर गरेको छ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले मुख्य प्रतिवादी बगाले र सहकारीको ङादी सेवा केन्द्र प्रमुख वीरेन्द्र गुरुङलाई जनही ४ वर्ष २ महिना कैद र १ करोड ७५ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको हो। यसैगरी, कसुरमा मतियारको भूमिका खेलेको ठहर गर्दै बगालेकी भदै अनिषा क्षेत्री (भण्डारी) लाई ३ महिना कैद सजाय तोकिएको छ।

बिगो र ब्याज भराउन आदेश
अदालतले २०८१ भदौ १० सम्मको साँवा रकम ८ करोड ५६ लाख २४ हजार ९८५ रुपैयाँ र त्यसपछिको ब्याजसमेत प्रतिवादीहरूबाट दामासाही रूपमा सहकारीलाई भराउन आदेश दिएको छ। साथै, बगाले र गुरुङले आफ्नो परिवारका सदस्यको नाममा खडा गरेको नक्कली ऋणको साँवा र ब्याजको दायित्व पनि उनीहरू स्वयंले व्यहोर्नुपर्ने फैसलामा उल्लेख छ।

के थियो घटना ?
एमालेबाट वडा सदस्य निर्वाचित बगाले र सेवा केन्द्र प्रमुख गुरुङको मिलेमतोमा नक्कली कर्जा खडा गरी करिब ११ करोड रुपैयाँ हिनामिना भएको भन्दै सहकारी संस्थाले कारबाहीका लागि पत्राचार गरेको थियो। सोही उजुरीपछि सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीले वित्तीय विश्लेषक निर्मल गौतमलाई छानबिनका लागि खटाएको थियो।

गौतमको प्रतिवेदनका आधारमा प्रहरीले अनुसन्धान गरी २०८१ फागुन ११ गते ८ करोड ५६ लाख रुपैयाँ बिगो माग दाबीसहित मुद्दा दायर गरेको थियो। अभियोगपत्रमा सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दासमेत लगाइएको भए पनि अदालतले ती दुई कसुरमा दाबी नपुग्ने ठहर गर्दै सहकारी ठगीमा मात्र सजाय सुनाएको हो।

यो पनि....

जनकल्याण सहकारी ठगी प्रकरणः बैंक ग्यारेन्टी बुझाएर रिहा भइन मधुमाया [फलोअप]

जनकल्याण सहकारी ठगी प्रकरणः मधुमायासँग ८५ लाख धरौटी माग, गुरुङ कारागार चलान

प्रकाशित मिति: शुक्रबार, मंसिर ११, २०८३  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update