मनाङ हुँदै चार महिनामा ८ हजार बढी पर्यटकले छिचोले 'थोरङ्ला पास'
थोराङ्ला पासमा पदयात्रामा निस्किएका विदेशी पर्यटक । तस्बिर सौजन्य : एस द हिमालय

मनाङ – चालु आर्थिक वर्षको पहिलो चार महिनामा मनाङ हुँदै ८ हजार ६४ जना पर्यटकले विश्वप्रसिद्ध थोरङ्ला पास पार गरेका छन् । 

अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत लमजुङको बेसीशहरबाट मनाङ भित्रिएका ती पर्यटकहरू ५ हजार ४१६ मिटर उचाइको थोरङ्ला पास छिचोलेर मुस्ताङतर्फ लागेका हुन् ।

अन्नपूर्ण संरक्षण आयोजना (एक्यास) मनाङका अनुसार साउनदेखि कात्तिकसम्म मनाङको बाटो हुँदै मुस्ताङ पुग्नेमा २ हजार ८४१ स्वदेशी र ५ हजार २२३ विदेशी पर्यटक छन् । जसमा स्वदेशीतर्फ २ हजार ८०८ पुरुष र ३३ महिला तथा विदेशीतर्फ ३ हजार ५७ पुरुष र २ हजार १६६ महिला रहेका छन् ।

पदमार्गको मुख्य सिजन सुरु भएसँगै कात्तिक महिनामा मात्र सर्वाधिक ६ हजार १६४ पर्यटकले मनाङ–थोरङ्ला पासको यात्रा गरेका छन् । 

त्यसअघि साउनमा १३३, भदौमा ३९९ र असोजमा १ हजार ३६८ पर्यटक यो मार्गबाट उक्लिएका थिए । वर्षको करिब पाँच महिना मुख्य चहलपहल हुने यस पदमार्गमा पर्यटकको उत्साहजनक आवागमनले मनाङको पर्यटन व्यवसायमा समेत रौनक थपेको छ ।

हिमपातले दुई साताभन्दा बढी पदमार्ग अवरुद्ध
थोरङ्ला पास क्षेत्रमा असोज ११ गते भएको भारी हिमपातका कारण पदमार्ग अवरुद्ध भएको थियो। बेमौसमी हिमपातले मनाङबाट थोरङ्ला पास जाने पर्यटकको आवागमन प्रभावित भएको थियो। पदमार्ग दुई साताभन्दा बढी समय अवरुद्ध हुँदा असोजमा अपेक्षाभन्दा कम पर्यटक थोरङ्ला पासमा थिए।

अवरुद्ध पदमार्ग खुलाउन मुस्ताङ र मनाङका पर्यटन व्यवसायी, सुरक्षाकर्मी तथा अन्य सरोकारवालाले हिउँ पन्छाएर आवागमन सहज बनाएका थिए। त्यसपछि मौसम अनुकूल बनेसँगै कात्तिकमा पर्यटकको संख्या उल्लेख्य बढेको हो।

समुद्री सतहबाट ५ हजार ४१६ मिटर उचाइमा रहेको थोरङ्ला पास राउण्ड अन्नपूर्ण पदमार्गको प्रमुख आकर्षणमध्ये एक हो। लमजुङको बेसीशहरबाट मनाङ हुँदै पदयात्रा गर्ने पर्यटक थोरङ्ला पास पार गरेर मुस्ताङको मुक्तिनाथ क्षेत्रमा पुग्छन्।

यस पदमार्गबाट पदयात्रा गर्ने पर्यटकले अन्नपूर्ण हिमालसहित आसपासका हिमशृङ्खला र उच्च हिमाली भूभागको दृश्यावलोकन गर्न पाउँछन्। साहसिक पदयात्राका लागि परिचित यो मार्गमा वर्षमा मुख्यतः दुईवटा पर्यटन सिजनमा चहलपहल हुने गर्छ।

हिउँदयाम सुरु हुनुअघि सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा पर्यटकको आवागमन बढी हुन्छ। हिउँदयामपछि अप्रिल, मे र जुन महिनामा पनि विदेशी तथा स्वदेशी पर्यटकले थोरङ्ला पास हुँदै मुस्ताङको यात्रा गर्ने गर्छन्।

प्रकाशित मिति: शनिबार, मंसिर ५, २०८३  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update