TagaroNews
कांग्रेस १५औँ महाधिवेशनः लमजुङबाट पूर्व र निवर्तमान सभापतिसहित ७ नेता केन्द्रीय सदस्यको मैदानमा

लमजुङ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयनका लागि लमजुङ जिल्लाबाट ७ जना नेताहरूले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् । 

जिल्लामा लामो समयदेखि पार्टीको नेतृत्व सम्हालेका पूर्व तथा निवर्तमान सभापतिदेखि आदिवासी जनजाति र दलित क्लस्टरका पुराना एवं जुझारु नेताहरू केन्द्रीय दौडमा उत्रिएका हुन् ।

वि.सं. २००७ सालको क्रान्तिदेखि नै प्रजातान्त्रिक आन्दोलनमा ऐतिहासिक योगदान पु¥याउँदै आएको लमजुङ कांग्रेसले यसपटक केन्द्रीय नीति निर्माण र नेतृत्व तहमा आफ्नो सशक्त उपस्थिति जनाउन आन्तरिक तयारी तीव्र पारेको छ ।

तुलसी नारायण श्रेष्ठ 
नेपाली कांग्रेस लमजुङका पूर्व जिल्ला सभापति श्रेष्ठ लामो राजनीतिक अनुभव र संगठनभित्र बलियो पकड भएका नेता हुन् । उनले यसपटक केन्द्रीय सदस्य खुला तर्फ उम्मेदवारी दिएका छन् ।

कृष्णप्रसाद कोइराला 
लमजुङ कांग्रेसका पूर्व जिल्ला सभापति कोइरालाले पार्टीको वैचारिक र सांगठनिक सुदृढीकरणका लागि खस आर्य क्लस्टरबाट केन्द्रीय सदस्यमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।

भेष बहादुर पौडेल 
नेपाली कांग्रेस लमजुङका निवर्तमान जिल्ला सभापति पौडेल लमजुङको भूगोलबाट प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य पदको चुनावी मैदानमा छन् । वि.सं. २०७२ सालको महाभूकम्पताका र १३औँ महाधिवेशनदेखि जिल्लाको सफल नेतृत्व समालेका पौडेलको उम्मेदवारीलाई काङ्ग्रेस वृत्तमा महत्त्वका साथ हेरिएको छ ।

गमप्रसाद गुरुङ 
जिल्लाका पुराना र पाका नेता गुरुङले लामो समयदेखि पार्टी र समुदायका लागि पु¥याएको योगदानको कदर गर्दै आदिवासी जनजाति कोटाबाट केन्द्रीय कार्यसमितिमा उम्मेदवारी दिएका छन् ।

पार्वती तामाङ 
महिला र समावेशी अधिकारका लागि आवाज उठाउँदै आएकी नेतृ तामाङले आदिवासी जनजाति महिला क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएकी छन् ।

अस्मिता गुरुङ ’खुशिमाया’ 
पार्टी र भ्रातृ संगठनमा सक्रिय भूमिका निभाउँदै आएकी नेतृ खुशिमायाले जनजाति महिलातर्फ केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएकी छन् ।

भिउसिन दमै 
पार्टीभित्र उत्पीडित र दलित समुदायको अधिकार एवं प्रतिनिधित्वका लागि निरन्तर संघर्षरत नेता दमैले दलित तथा समावेशी क्लस्टरबाट केन्द्रीय समितिमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।

नेपाली कांग्रेस लमजुङको इतिहासमा एकैपटक पूर्व र निवर्तमान सभापतिसहित समावेशी क्लस्टरका ७ जना नेताहरू केन्द्रीय तहमा प्रतिस्पर्धामा उत्रिनुले जिल्लाको राजनीतिक महत्त्वलाई अझ बढाएको छ । 

वडा तहदेखि पालिका हुँदै क्षेत्रसम्म सम्पन्न भएका लोकतान्त्रिक अभ्यास र अधिवेशनहरूबाट चुनिएका महाधिवेशन प्रतिनिधिहरूले लमजुङका यी नेताहरूलाई केन्द्रीय समितिमा स्थापित गराउन लबिइङ र आन्तरिक छलफल तीव्र पारेका छन् ।

अग्रजहरूको अनुभव र महिला तथा दलित–जनजाति समुदायको ऊर्जासहितको यो उम्मेदवारीले १५औँ महाधिवेशनमा लमजुङ कांग्रेसलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १९, २०८३  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update