विपी स्मृति पार्कमा प्रेस युनियन लमजुङको बृहत वृक्षारोपण

लमजुङ - ‘स्वच्छ वातावरण, समृद्ध भविष्यका लागि’ भन्ने मूल नाराका साथ नेपाल प्रेस युनियन लमजुङ शाखाको आयोजनामा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार लमजुङ सुन्दरबजार नगरपालिका–१०, कोइरालाफाँटस्थित विपी स्मृति पार्कमा उक्त कार्यक्रम गरिएको हो ।

प्रेस युनियन लमजुङ शाखाका अध्यक्ष निरज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सुन्दरबजार नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद कोइराला प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कोइरालाले यस ऐतिहासिक कोइरालाफाँट क्षेत्र कोइरालाहरूको पुर्ख्यौली उद्गम थलो रहेको स्मरण गर्दै यहाँ महामानव विपी कोइरालाको स्मृतिमा पार्क निर्माण हुनु गौरवको विषय भएको बताए। 

उनले यस पार्कलाई ऐतिहासिक एवं सांस्कृतिक धरोहर, हरियाली प्रवर्द्धन तथा आन्तरिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्नुपर्ने औचित्यमाथि जोड दिए।

साथै, बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्न वृक्षारोपण अपरिहार्य रहेको उनको भनाइ थियो । प्रेस युनियनले गरेको सुरुवाती कामको उनले प्रसंशा गर्दै आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने समेत बताए ।

यस्तै, कार्यक्रममा विशेष अतिथिका रूपमा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य परमेश्वर अधिकारी थिए ।

कार्यक्रममा नेपाली कांग्रेस लमजुङका प्रबक्ता गणेश गौली, महाधिवेशन प्रतिनिधि बाबुराम पौडेल, प्रेस युनियनका प्रदेश काेषाध्यक्ष एवं पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेल, केन्द्रिय महाधिवेशन प्रतिनिधि रामजी राना, निवर्तमान अध्यक्ष सन्तोष पौडेल, सुन्दरबजार-१०, का वडा अध्यक्ष दिपकराज ढकाल सहित स्थानीय जनप्रतिनिधि, विपि स्मृति पार्क निर्माण समिती अध्यक्ष कृष्ण राज तिवारी, स्थानीय नेताहरु समाजसेवीहरु, क्लबका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

पार्कको सौन्दर्यीकरण र वातावरण संरक्षणमा टेवा पुर्‍याउने उद्देश्यले पार्क परिसरमा विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको आयोजक नेपाल प्रेस युनियन लमजुङले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३  १९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update