मनाङतिर लोभिँदै भारतीय पर्यटक
मनाङ आएका भारतीय पर्यटक ।

मनाङ – विश्वप्रसिद्ध चर्किय अन्नपूर्ण पदमार्ग र हिमाली जिल्ला मनाङको प्राकृतिक तथा सांस्कृतिक सुन्दरता अवलोकनका लागि भारतीय पर्यटकहरूको आकर्षण ह्वात्तै बढेको छ । 

सन् २०२६ को अक्टोबर महिनासम्ममा मात्रै ५ हजार ४९ जना भारतीय पर्यटकले मनाङको भ्रमण गरिसकेका छन्, जसले मनाङको पर्यटन व्यवसायमा भारतीय बजारको हिस्सा बलियो बन्दै गएको पुष्टि गर्छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप एकाइ कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार सन् २०२६ को अक्टोबरसम्म कुल ३० हजार ६६२ जना विदेशी पर्यटकले मनाङको भ्रमण गरेका छन् । जसमा १९ हजार १४० जना पुरुष, ११ हजार ५१२ जना महिला र अन्य १० जना रहेका छन् ।

कुन देशको उपस्थिति कति ?
अक्टोबर महिनासम्म विश्वका ११९ देशका नागरिकहरूले मनाङका विभिन्न पर्यटकीय स्थलहरूको भ्रमण गरिसकेका छन् । मनाङ भ्रमणमा आउने देशहरूमध्ये शीर्ष ५ मा भारतीयहरूको संख्या सबैभन्दा उच्च रहेको छ ।

भारतः ५,०४९ जना (सार्क राष्ट्रका कुल ५,०९० मध्ये)
इजरायलः २,७६८ जना
जर्मनीः १,९४८ जना
चीनः १,८९९ जना
फ्रान्सः १,०३४ जना

चक्रवातको प्रभाव र हिमपातबिच पनि आगमन
पछिल्लो समय ‘अर्नब’ चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा भारी हिमपात र केही जोखिमको अवस्था सिर्जना भए तापनि पर्यटकहरूको आगमन रोकिने अवस्था नरहेको प्रमुख भुजेलले बताए ।

“जोखिमकै अवस्थामा पनि मनाङको सौन्दर्यता अवलोकन गर्न उल्लेख्य पर्यटक आए। अहिले जोखिम कम भएसँगै पर्यटकहरू आ–आफ्नो गन्तव्यतर्फ सुरक्षित रूपमा अगाडि बढिसकेका छन्,“ उनले भने ।

के हेर्न आउँछन् पर्यटक ?
पर्यटकहरू मुख्य गरी मनाङ र मुस्ताङको सिमानामा पर्ने प्रसिद्ध थोराङ्ला भञ्ज्याङ (५,४१६ मिटर) पास गर्न, विश्वकै अग्लो स्थानमा अवस्थित तिलिचो तालको अवलोकन गर्न तथा हिमलुङ र मनास्लु हिमाल आरोहणका लागि मनाङ आउने गर्दछन् ।

हिमाल र पहाडका मनमोहक दृश्य, मनाङवासीको विशिष्ट संस्कार, बौद्ध संस्कृति, रीतिरिवाज र प्राकृतिक सुन्दरता नै यहाँको मुख्य आकर्षण हो ।

बेसीशहरबाट सुरु हुन्छ यात्रा
विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त र साहसिक पदमार्गमध्येको अन्नपूर्ण पदमार्गको औपचारिक यात्रा लमजुङको बेसीशहर नगरपालिका–७, मनाङ्गे चौताराबाट सुरु हुन्छ ।

यस पदमार्गले लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँचवटा जिल्लालाई जोडेको छ। काठमाडौँदेखि बेँसीसहरसम्म गाडीमा आउने पर्यटकहरू पछिल्लो समय सडक सुविधाका कारण चामे र खाङ्सारसम्म गाडीमै पुग्ने र त्यहाँबाट मात्र पदयात्रा सुरु गर्ने गरेका छन् । थोराङ्ला पास गरेपछि पर्यटकहरू मुस्ताङ हुँदै पोखरा निस्कने गर्दछन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०८३  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update