मनाङ - बाढी प्रभावित मनाङका ३६ परिवारलाई साना गुरुङ एन्ड फ्रेन्ड्सले राहत सामग्री वितरण गरेको छ। समूहले चामेका २३ परिवार र हुम्डेका १३ घरपरिवारलाई लक्षित गरी अत्यावश्यक सामग्री हस्तान्तरण गरेको हो।
चामेमा गाउँपालिका अध्यक्ष लोकेन्द्र घले, वडा नम्बर ५ का अध्यक्ष विजय गुरुङ तथा चामे गाउँपालिकाका स्वास्थ्य प्रमुख छोडेन लामाको उपस्थितिमा राहत सामग्री वितरण गरिएको थियो।
चामेका प्रत्येक परिवारलाई म्याट्रेस, कम्बल, सिरानी, तन्ना, लत्ताकपडा, स्यानिटरी प्याड तथा शिशुका लागि डाइपर प्रदान गरिएको समूहले जनाएको छ।
त्यस्तै, राहतको पहुँचबाट टाढा रहेको हुम्डेका १३ घरपरिवारलाई म्याट्रेस, कम्बल, लत्ताकपडा, चामल, भान्सामा प्रयोग हुने भाँडाकुँडा, बालबालिकाका लागि डाइपर तथा स्टेसनरी सामग्री वितरण गरिएको छ।
बाढीबाट प्रभावित परिवारलाई दैनिक जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले राहत वितरण गरिएको हो। विशेषगरी हुम्डेमा गरिएको सहयोगले राहतको पहुँचबाट टाढा रहेका परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।
साना गुरुङ एन्ड फ्रेन्ड्सको पहलमा गरिएको यस सहयोगले विपद्का बेला प्रभावित परिवारको आधारभूत आवश्यकता पूरा गर्न योगदान पुर्याउने विश्वास गरिएको छ।





