लमजुङ - नेपाली कांग्रेस लमजुङका पालिका सभापतिहरूले पार्टीको १५औँ जिल्ला तथा क्षेत्रीय अधिवेशनलाई गुट–उपगुटभन्दा माथि उठेर सम्पन्न गर्न अपिल गरेका छन्।
पालिका सभापतिहरूले संयुक्त अपिल जारी गर्दै लोकतान्त्रिक मूल्य, मान्यता र पार्टीको भविष्यलाई केन्द्रमा राखेर अधिवेशन सम्पन्न गर्न आग्रह गरेका हुन्।
अपिलमा समूह वा प्यानल बन्नु लोकतान्त्रिक प्रतिस्पर्धाको स्वाभाविक पक्ष भए पनि प्रतिनिधिहरूले आफ्नो विवेक प्रयोग गरी योग्य, सक्षम, इमानदार, अनुभवी र संगठनलाई गतिशील बनाउन सक्ने नेतृत्व छनोट गर्नुपर्ने उल्लेख गरिएको छ।
अधिवेशनको प्रतिस्पर्धालाई व्यक्तिगत सम्बन्ध वा गुटगत आग्रह-पूर्वाग्रहको विषय नबनाउन तथा निर्वाचनपछि सबै समूह र उम्मेदवारलाई समेट्दै कांग्रेसलाई एकताबद्ध र सशक्त बनाउनुपर्नेमा पनि जोड दिइएको छ।
त्यस्तै, निकट भविष्यमा हुने स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै सर्वसम्मत निर्णयमार्फत आदरणीय अग्रज नेताहरूको सुझाव र अनुभवलाई समेटेर अघि बढ्नुपर्ने अपिलमा उल्लेख छ।
उम्मेदवारी दर्ता गराउन लागेका साथीहरूले समय र मागलाई बुझी सहयोग गर्नुपर्नेमा आफूहरू आशावादी रहेको पालिका सभापतिहरूले बताएका छन्।
अपिलमा बेसीशहर नगरपालिकाका पूर्णबहादुर थापा, राइनास नगरपालिकाका नुरराज कँडेल, सुन्दरबजार नगरपालिकाका उत्तम गुरुङ, मध्यनेपाल नगरपालिकाका कर्मप्रसाद गुरुङ, मर्स्याङ्दी गाउँपालिकाका हेमकान्त घिमिरे, दोर्दी गाउँपालिकाका लालबहादुर गुरुङ, क्व्होलासोथार गाउँपालिकाका राजु गुरुङ र दूधपोखरी गाउँपालिकाका कमलप्रसाद घितालले हस्ताक्षर गरेका छन्।






