सावधान ! लमजुङमा प्लास्टिकका फूलमाला प्रतिबन्ध, नियम मिचे सामान जफत

लमजुङ – तिहार पर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय लमजुङले बजारमा प्लास्टिकका फूल र मालाको बिगबिगी रोक्न कडा कदम चालेको छ । 

प्रशासनले जिल्लाभर प्लास्टिकजन्य फूल, फूलमाला तथा फूलगुच्छाको उत्पादन, आयात, बिक्रीवितरण र भण्डारणमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ ।

चाडपर्वको बहानामा भित्रिने गैरकानुनी प्लास्टिकका सामग्रीले वातावरण बिगार्ने र स्थानीय फूल उत्पादक किसानलाई मारमा पार्ने भएपछि प्रशासनले यस्तो कडा एक्सन लिएको हो ।

प्रतिबन्धको उद्देश्य के ?
प्रशासनद्वारा जारी सूचना अनुसार, जिल्लाका विभिन्न पालिकाहरूमा पछिल्लो समय पुष्पखेती व्यावसायिक रूपमा फस्टाउँदै गएको छ । 

नेपाल प्राकृतिक फूल र मालामा क्रमशः आत्मनिर्भर हुँदै गइरहेको अवस्थामा रैथाने बजार प्रवद्र्धन गर्न यो निर्णय गरिएको उल्लेख छ । 

प्रशासनले तिहार र छठ जस्ता सांस्कृतिक पर्वहरूमा कृत्रिम प्लास्टिकका माला र खादाको सट्टा स्थानीय स्तरमै उत्पादित प्राकृतिक फूल र माला मात्र प्रयोग गर्न आम नागरिक, क्लब तथा व्यावसायिक संघ–संस्थाहरूलाई जोडदार अपिल गरेको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए ।

नियम मिचे जफत र कडा जरिवाना
नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ को दफा १६ को उपदफा (६) बमोजिम प्लास्टिकजन्य फूलगुच्छाको कारोबारमा देशभर नै पूर्ण रोक लगाएको छ । लमजुङ प्रशासनले सोही कानुनलाई जिल्लामा कडाइका साथ लागू गर्न लागेको हो । 

अब लमजुङका बजारहरूमा अनुगमन तिब्र पारिने र कुनै पनि पसल वा गोदाममा प्लास्टिकका फूलमाला बिक्रीवितरण वा ओसारपसार गरेको पाइएमा सामग्री जफत गरी प्रचलित कानुन बमोजिम कडा कानुनी कारबाही र जरिवाना गरिने प्रशासनले स्पष्ट चेतावनी दिएको छ ।

बजारमा यसको प्रभाव 
तिहारमा घर सजाउन र भाइटीकामा प्रयोग गर्न प्लास्टिकका माला सस्तो र टिकाउ हुने भन्दै विगतमा चिनियाँ तथा भारतीय प्लास्टिकका फूलहरू लमजुङका बेसीशहर, भोटेओडार, सुन्दरबजार र भोर्लेटार लगायतका मुख्य बजारमा व्यापक रूपमा भित्रिने गरेका थिए । 

प्रशासनको यो आकस्मिक प्रतिबन्धले बाहिरबाट अवैध रूपमा सामान ल्याउने बिचौलिया व्यापारीहरूको करोडौँको धन्दा चौपट हुने देखिएको छ भने लमजुङमै व्यावसायिक रूपमा सयपत्री र मखमली फूल रोपेर बसेका रैथाने किसानहरूले भने यस निर्णयको स्वागत गर्दै खुसी व्यक्त गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०८३  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update