बेसीशहर - लमजुङ सदरमुकाम बेसीशहरमा अत्याधुनिक सेवा सुविधासहितको 'ट्रेकर्स हाइड्रेशन स्पा एण्ड सैलुन' को आइतबार औपचारिक शुभारम्भ गरिएको छ।
बेसीशहर नगरपालिका-७, मनाङ्गे चौतारामा स्थापना भएको यस संस्थाको आइतबार बिहान विधिवत रूपमा उद्घाटन गरिएको हो।
यस क्षेत्रकै प्रतिष्ठित वेलनेस सेन्टरको रूपमा हेरिएको यस स्पा तथा सैलुनको एकीकृत सेवा कार्यालय लमजुङका प्रमुख ठाकुर ढकालले रिबन काटेर औपचारिक उद्घाटन गरे ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख ढकालले यस क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो संस्था थकान बिसाउने र ऊर्जा थप्ने उत्कृष्ट केन्द्रको रूपमा रहने विश्वास व्यक्त गरे । पर्यटन र वेलनेस क्षेत्रमा स्थानीय स्तरमै यस्तो स्तरको सेवा सुरु हुनु सुखद पक्ष रहेको उनको भनाइ थियो।
ग्राहकहरूलाई विश्वस्तरीय र अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले बेसीशहरका दुई युवाहरु युवक गुरुङ र निरज अधिकारीको संयुक्त लगानीमा करिब ५० लाख रुपैयाँ लागतमा यो स्पा र सैलुन निर्माण गरिएको हो।
फर्निचर व्यवसायमा संलग्न गुरुङ र सञ्चार क्षेत्रमा काम गरेका अधिकारीले स्वदेशमै व्यवसाय गर्ने उद्देश्यले यसलाई सञ्चालनमा ल्याएका हुन्। विशेषगरी लामो पदयात्रा बाट फर्किएका पर्यटकहरू र स्थानीय ग्राहकहरूलाई लक्षित गरी यो सेवा सञ्चालनमा ल्याइएको सञ्चालक गुरुङले बताए ।
संस्थामा पुरुष, महिला तथा बालबालिकाहरूका लागि नयाँ ट्रेन्डिङ हेयर स्टाइल, एड्भान्स कलरिङ र प्रिमियम ब्युटीरमेकअप केयरको व्यवस्था छ । यस्तै अनुभवी थेरापिस्टहरूद्वारा शरीरको थकान मेटाउने बडी स्क्रब, प्रिमियम मसाज र विभिन्न रिल्याक्सेसन थेरापीको सुविधा छ ।
शरीरलाई प्राकृतिक रूपमा डिटक्स गर्न र ऊर्जा थप्नका लागि अत्याधुनिक साउना र स्टीम बाथको व्यवस्था समेत गरिएको छ । ग्राहकको आवश्यकता अनुसार अन्य सेवा सुविधा थप गर्दै लगिने अर्का सञ्चालक अधिकारीले जानकारी दिए ।






