नेपाल बैंकको बेसीशहर शाखा गण्डकी प्रदेशकै उत्कृष्ट घोषित

लमजुङ - नेपाल बैंक लिमिटेडको गौरवमय ९०औं वार्षिकोत्सवको अवसरमा बैंकको बेसीशहर शाखा गण्डकी प्रदेश अन्तर्गतकै 'उत्कृष्ट शाखा' को रूपमा सम्मानित भएको छ ।

बैंकका शाखाहरूको कार्यसम्पादन मूल्याङ्कनका आधारमा बेसीशहर शाखाले गण्डकी प्रदेशभरिमै उत्कृष्ट नतिजा हासिल गर्दै यो सम्मान प्राप्त गरेको हो । शाखामा कार्यरत सम्पूर्ण कर्मचारीहरूले सामूहिक रूपमा उत्कृष्ट कार्यसम्पादन गरी बैंकको व्यवसाय विस्तार एवं प्रगतिमा पुर्‍याएको योगदानको कदरस्वरूप नगद पुरस्कार रू. ३०,००० (तीस हजार मात्र) सहित प्रशंसा–पत्र प्रदान गरिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तिलक राज पाण्डेय र नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर खड्काद्वारा हस्ताक्षरित उक्त प्रशंसा–पत्र शाखाका प्रबन्धक विज्ञान पौडेललाई हस्तान्तरण गरिएको हो ।

उत्कृष्ट शाखा घोषित भएसँगै शाखा प्रबन्धक विज्ञान पौडेलले सम्पूर्ण टिम बेसीशहर शाखाको तर्फबाट बैंकको प्रधान कार्यालय, प्रादेशिक कार्यालय तथा सम्पूर्ण ग्राहकवर्गप्रति हार्दिक आभार व्यक्त गरे ।

उनले अनवरत विश्वासको ९०औं वर्षको गौरवमय यात्रामा प्राप्त भएको अपार माया, विश्वास र साथका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि ग्राहक सेवा र उत्कृष्टताको निरन्तरताका लागि आफू र आफ्नो टिम सदैव कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति: सोमबार, कात्तिक ३०, २०८३  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update