लमजुङ - नेपाल विद्युत् प्राधिकरणले पहिलो चरणमा आरसीओडी थप गरेका २७ जलविद्युत् आयोजनामा ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेँसी जलविद्युत् आयोजना पनि परेको छ। आयोजना दिव्यज्योति हाइड्रोपावर लिमिटेडले प्रवर्द्धन गरिरहेको हो।
विद्युत् खरिद सम्झौता (पीपीए) भइसके पनि निर्धारित समयमा आयोजना निर्माण सम्पन्न हुन नसकेपछि प्राधिकरणले आयोजनाको वास्तविक अवस्था, भौतिक प्रगति र प्रवर्द्धकले पूरा गर्नुपर्ने दायित्व मूल्याङ्कन गरी आरसीओडी थप गरेको हो। पहिलो चरणमा कुल ५४०.४७ मेगावाट क्षमताका २७ आयोजनाको आरसीओडी थप गरिएको छ।
लमजुङको बेँसीशहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिका क्षेत्रमा निर्माणाधीन मर्स्याङ्दी बेँसी आयोजनाको कुल लागत करिब ११ अर्ब ३० करोड रुपैयाँ अनुमान गरिएको छ। आयोजनाका लागि सिटिजन्स बैंक इन्टरनेसनलको नेतृत्वमा ७ अर्ब ५० करोड रुपैयाँ ऋण लगानीको वित्तीय व्यवस्थापन भइसकेको छ।
आयोजनाको निर्माणमा हालसम्म करिब २५ प्रतिशत भौतिक प्रगति भएको कम्पनीले जनाएको छ। आयोजना सम्पन्न भएपछि उत्पादित विद्युत् करिब ८ किलोमिटर दूरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको १३२ केभी उदिपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ।
आरसीओडी थप भएसँगै मर्स्याङ्दी बेँसी आयोजनाले व्यावसायिक उत्पादनको लक्ष्य पूरा गर्न थप समय पाएको छ। प्राधिकरणले आरसीओडी थप भएका आयोजनाको निर्माण प्रगति र प्रवर्द्धकले पूरा गर्नुपर्ने दायित्वको नियमित अनुगमन गर्ने जनाएको छ।






