TagaroNews
मजदुरको ज्यानमाथि खेलबाडः सुपर ङादीमा तीन दिनमै दुई कामदार भीरबाट खसे

लमजुङ – मर्स्याङ्दी गाउँपालिका–६ मा निर्माणाधीन सुपर ङादी हाइड्रोपावर आयोजनामा कामदारको सुरक्षामा गम्भीर लापरबाही भएको आरोप लागेको छ । 

कार्यस्थलमा आवश्यक सुरक्षा व्यवस्था नहुँदा तीन दिनको अन्तरालमा दुई जना कामदार भीरबाट खसे । एकको मृत्यु भयो भने, अर्का गम्भीर घाइते भएका छन् ।

लगातार भएका यी दुई दुर्घटनाले जोखिमयुक्त भूगोलमा निर्माण भइरहेको आयोजनामा कामदारको सुरक्षा व्यवस्थापनप्रति गम्भीर प्रश्न उठाएको छ ।

६० मिटर तल खसे रविन
गत असोज १७ गते शनिबार दिउँसो करिब साढे २ बजे आयोजनामा कार्यरत दाङको तुलसीपुर उपमहानगरपालिका–८ का ३२ वर्षीय रविन बस्नेत भीरबाट खसेर गम्भीर घाइते भए ।

आयोजना स्थलभन्दा करिब एक किलोमिटर माथि त्रिपाल लिन जाने क्रममा बाटोबाट सन्तुलन गुमाउँदा उनी करिब ६० मिटर तल भीरको खोंचमा खसेका थिए। 

घटनापछि उद्धार गरी उनलाई प्रदेश अस्पताल लमजुङ ल्याइएको थियो । उनको छाती र बायाँ हातमा गम्भीर चोट लागेको बताइएको छ । उनको उपचार भइरहेको छ ।

तीन दिनमै अर्को दुर्घटना
पहिलो दुर्घटनाको तीन दिन नबित्दै सोमबार बिहान पौने ११ बजेतिर आयोजनामा अर्को दुर्घटना भयो । आयोजनाकै काममा खटिएका सप्तरीको सप्तकोशी नगरपालिका–८ का ३७ वर्षीय रमेशकुमार चौधरी कार्यस्थल नजिकैको भीरबाट करिब २० मिटर तल खसे ।

घाइते चौधरीलाई उद्धार गरी उपचारका लागि लमजुङ अस्पताल ल्याइएको उनको मृत्यु भएको छ । 

सुरक्षा उपकरण कहाँ छन ?
एकपछि अर्को दुर्घटना भएपछि आयोजनाको कार्यस्थल सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ । मजदुरहरूका अनुसार जोखिमपूर्ण भीरालो क्षेत्रमा काम गर्दा आवश्यक पर्ने हेलमेट, सेफ्टी बेल्ट, लाइफलाइन, डोरी तथा सुरक्षित पदमार्गको पर्याप्त व्यवस्था नभएको गुनासो छ ।

यद्यपि, यी सुरक्षा उपकरण र व्यवस्थापनको अवस्था तथा दुर्घटनामा त्यसको प्रत्यक्ष सम्बन्धबारे सम्बन्धित निकायबाट थप अनुसन्धान आवश्यक देखिन्छ ।

जलविद्युत आयोजना निर्माणका क्रममा कामदारको सुरक्षा पहिलो प्राथमिकतामा हुनुपर्ने भए पनि लगातारका दुर्घटनाले आयोजना व्यवस्थापन र नियामक निकायको अनुगमन प्रभावकारी छ कि छैन भन्ने प्रश्नसमेत उठाएको छ ।

आयोजना पक्ष के भन्छ ?
लगातार दुई जना कामदार भीरबाट खसेको घटनाबारे सुपर ङादी हाइड्रोपावर आयोजना पक्षसँगसँग कुरा गर्दा उनीहरुले यस विषयलाई गम्भीर नै लिएनन् । 

आयोजनाका चिफ टेक्निकल अफिसर बिराट भट्टले सोमबार मृत्यु भएका कामदार आफ्नो आयोजनामा कार्यरत रहेको र अघिल्लो घट्नाका कामदार अर्के आयोजनाको हो भनि ढाँटे । 

यद्यपी शनिबारको घट्नामा घाइते भएका रविन बस्नेतसँगै अस्पतालमा रहेका गणेश पन्थीसँग कुरा गर्दा आफुहरु यहि आयोजनाको काममा खटिएको बताउँछन् । 

आयोजनाका अफिसर भट्टले भने, ‘अचानक भएको घट्ना हो । सेप्टी सुरक्षाको कुरा त सही नै हो । घट्ना भइहाल्यो । अब हामी यस विषयमा सोच्ने छौँ ।'

जोखिमयुक्त काममा खटाउँदा समेत कामदारको जिउज्यानको सुरक्षाप्रति आयोजना व्यवस्थापन पक्ष लाचार र गैरजिम्मेवार बन्दा विपन्न मजदुरहरू अकालमै अङ्गभङ्ग र मृत्युको मुखमा पर्न बाध्य भएका छन् । नियामक निकाय र स्थानीय प्रशासनले यस्ता संवेदनशील पूर्वाधार आयोजनामा अनुगमन नगर्दा हाइड्रोपावर कम्पनीहरूले मजदुरको श्रम र जीवनमाथि खेलबाड गरिरहेका छन् ।
 

प्रकाशित मिति: सोमबार, असोज १९, २०८३  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update