काठमाडौं - बैंक तथा वित्तीय संस्थाले एटीएम मेसिनमा अबदेखि एक सय दरका नोट पनि राख्ने भएका छन् । नेपाल राष्ट्र बैंकले एक सयका नोट पनि राख्न निर्देशन दिएपछि बैंक तथा वित्तीय संस्थाले त्यसलाई कार्यान्वयन गर्ने भएका हुन् ।
हाल एटीएमबाट १ हजार र ५ सय दरका नोटहरू मात्र झिक्न सकिन्छ । केन्द्रीय बैंकको नयाँ व्यवस्थासँगै बैंक तथा वित्तीय संस्थाले १ सय दरका नोट पनि एटीएममा राख्ने भएपछि सर्वसाधारणले झिक्न सक्नेछन् ।
सर्वसाधारणले १ सय दरका नोट पनि एटीएमबाट झिक्न सकिने व्यवस्था गर्न माग गर्दै आएका थिए । बैंक तथा वित्तीय संस्थाले पनि १ सय दरका नोट एटीएममा राख्न सकिने जनाएपछि कार्यान्वयन गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।
परम्परागत एटीएम मेसिनमा दुई दरका नोट मात्र राख्न सकिन्छ । तर पछिल्लो नयाँ तथा आधुनिक एटीएममा भने ४ वटा दरका नोट राख्न सकिन्छ । नेपाली बैंक तथा वित्तीय संस्थाका धेरै एटीएम परम्परागत भएकाले थोरै एटीएमबाट मात्र १ सय दरका नोट झिक्न सकिनेछ ।





