लमजुङ – लमजुङको मध्यनेपाल नगरपालिका–६ भोर्लेटारमा केन्द्रीय कार्यालय रहेको मादी मिदिम ऋण तथा बचत सहकारी संस्था लि. (साकोस) मा सेयर सदस्यहरूको ५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा सञ्चालक तथा सेयर सदस्यसहित ६४ जना विरुद्ध जिल्ला अदालत लमजुङमा मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयमार्फत उक्त अभियोग पत्र दर्ता गरिएको हो । २०७० सालदेखि सञ्चालनमा आएको यस सहकारीले कार्यक्षेत्र बाहिर गैरकानुनी रूपमा मध्यनेपाल–४ र मध्यनेपाल–७ को रामबजारमा समेत सेवा केन्द्र सञ्चालन गरेको पाइएको छ ।
बचतकर्ताहरूको रकम सञ्चालक समिति, ऋण उपसमिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरूले मागेबमोजिम नगद र आफ्ना खातामा राखेर १ करोड ४७ लाख ७३ हजार २९६ रुपैयाँ सिधै व्यक्तिगत रूपमा प्रयोग गरेको अभियोग पत्रमा उल्लेख छ ।
सहकारीका मुख्य सञ्चालकहरू राजनीतिक शक्ति केन्द्रको आडमा उम्किन खोजेको र केही साधारण सेयर सदस्यहरूलाई मात्र फसाउन खोजेको भन्दै जानकारहरूले आलोचना गरेका छन् । प्रहरीले ६४ जना प्रतिवादी सबैलाई ’फरार’ सूचीमा राखेर मुद्दा दायर गरेको छ ।
प्रतिवादी सूचीको ४२ नम्बरदेखि सञ्चालकहरूलाई राखिएको छ । जसमा संस्थाका अध्यक्ष राजेन्द्र पौडेल, प्रबन्धक सरोज पौडेल, उपाध्यक्ष प्रताप शाली घिमिरे, सचिव बद्री प्रसाद पौडेल, कोषाध्यक्ष राम बहादुर क्षेत्री अधिकारी, लेखा समितिका सुशील अधिकारी र उमेश अधिकारी, ऋण उपसमितिका कृष्णकान्त पौडेल र राममणि भट्टराई, तथा तत्कालीन कर्मचारी पुनम गुरुङ लगायत ६४ जना रहेका छन् ।
फरार रहेका प्रतिवादीहरूको हकमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५७ बमोजिम अदालतबाटै म्याद जारी गर्न अभियोग पत्रमा अनुरोध गरिएको छ ।





