लमजुङ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै छ । निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दल र उम्मेदवारहरु गाउँ केन्द्रीत बनेका छन् ।
मतदातासँग भेटघाट गर्ने, आफ्ना विचार, सिद्धान्त र कार्ययोजना सुनाउने र मतप्रभावित पार्ने काममा सक्रिय छन् उम्मेदवार ।
जिल्लामा ११ वटा राजनीतिक दल र एक जना स्वतन्त्रबाट उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट उपाध्यक्ष एवं पूर्व मन्त्री पृथ्वीसुब्बा गुरुङ चुनावी मैदानमा आउँदा नेपाली कांग्रेसबाट गम प्रसाद गुरुङ प्रतिस्पर्धामा उत्रिएका छन् । नेपाली कम्युनिष्ट पार्टीबाट हरिजंग तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट धर्मराज केसी उम्मेदवार रहेका छन् ।
एमाले कांग्रेसका दुबै उम्मेदवारको एउटै पालिका हो, क्व्होलासोथार गाउँपालिका । पृथ्वीसुब्बाले घलेगाउँबाट चुनावी अभियान सुरु गरे भने, गम प्रसादले आफ्नै गाउँ घाम्राङबाट ।
अहिले प्राय सबै दलका उम्मेदवार कार्यकता भेटघाट, भेला र आफनो चुनावी अभियानमा ब्यस्त छन् । सबै दलका उम्मेदवार गाउँ–गाउँका टोलटोलमा पुग्नुका साथै घरदैलो गरिरहेका छन् ।
एमालेका पृथ्वीसुब्बा नवौंपटक चुनाव लड्दै छन् । यसअघि आठ पटक चुनाव लडेका गुरुङ २०६४, २०७४ र २०७९ मा मात्रै तीन पटक निर्वाचित भए भने बाँकी पाँच पटक पराजित भएका थिए ।
एमालेका केन्द्रिय उपाध्यक्षसमेत रहेका गुरुङले संघिय सरकारअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गण्डकी प्रदेशको प्रथम मुख्यमन्त्री देखि यसअघिको सरकारमा सूचना तथा सञ्चार मन्त्रालय मन्त्रालयसमेत सम्हालिसकेका छन् ।
यसपटक भने उनी पूराना अधुरा योजना पूरा गर्ने भन्दै मत हत्याउने दाउमा छन् । आफूले अघिल्ला कार्यकालमा जिल्लाको विकास निर्माणका लागि धेरै काम गरेको जनाउँदै केही काम पूरा गर्न बाँकी रहेकाले पुनः उम्मेदवारी दिएको उनी बताउँछन् ।
कांग्रेस नेता गम प्रसाद गुरुङ नयाँ अनुहारका रुपमा चुनावी मैदानमा छन् । राजनितिसँगै सामाजिक र कृषि कार्यमा सक्रिय छन् उनी ।
इमानदार, पारदर्शी र स्वच्छ राजनीतिक छविले आम कायकर्तामाझ परिचित उनी युवाको भविष्य, किसानको सम्मान, श्रमिकको सुरक्षा र मध्यम वर्गको स्थायित्वलाई आफ्नो प्रमुख राजनीतिक एजेन्डा बनाएका छन् ।
विकास, रोजगारी, सुशासन र समृद्धिको यात्रामा लमजुङलाई अग्रसरता दिने अभियानमा रहेका गम प्रसादले जनताको आधारभुत आवश्यकताको विषय उठान गर्न आफूले उम्मेदवारी दिएको बताए ।
ठूला र असम्भव, महत्वकाङ्क्षी योजना नभई जनताका आवश्यकता र चाहाना बमोजिमका काम गर्ने उनी बताउँछन् ।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार हरिजंग तामाङले समग्र लमजुङको विकासका लागि योजनाबद्ध काम गर्नुपर्ने आवश्यकता औँल्याए । दक्ष प्रविधियुक्त शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागी योजनाको खाका आफूसँग रहेको उनको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले अहिले मुलुकमा भइरहेको शासन व्यवस्थाको विकल्पमा नीति र विधि परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए । उनले निर्वाचन पश्चात रास्वपाको बहुमतको सरकारले आउने र जेन्जी पुस्ताको माग सम्बोधन गर्ने तर्क गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जिल्ला अध्यक्ष केविन्द्रजङ गुरुङलाई उठाएको छ ।
नेपाल मजदुर किसान पार्टीबाट गुजेश्वरी प्रजापति मगजु, नेकपा (माओवादी) का रवीन्द्र नखोला, नेसनल रिपब्लिक नेपालका भरत गुरुङ, मंगोल नेसनल अर्गनाइजेसनका विकास गुरुङ, श्रम संस्कृति पार्टीका कोषलाल गुरुङ र जनादेश पार्टीका मिलन बास्कोटा उम्मेदवार छन् । सबै दलले पनि आफ्ना चुनावी गतिविधिलाई सुक्ष्म रूपमा सञ्चालन गरिरहेका जानकारी दिएका छन् ।
राजनीतिदलबाट ११ जनाको उम्मेदवारी हुँदा १ जना स्वतन्त्र उम्मेदवार सन्तोष घिमिरे पनि चुनावी मैदानमा छन् ।
आगामी निर्वाचनमा यहाँबाट एक लाख ३७ हजार १२४ मतदाता रहेका छन् । जस्मा ६७ हजार ६०० पुरुष र ६९ हजार ५२४ महिला मतादाता छन् ।
१३० मतदानस्थल र १९२ मतदान केन्द्र कायम गरिएको छ । जसमध्ये ३० मतदानस्थल अति संवेदनशील सूचीमा छन् भने, ७७ मतदानस्थल संवेदनशील सूचीमा राखिएको छ ।
२३ मतदानस्थल सामान्य रहेको सुरक्षा समितिको विश्लेषण छ । मतदान केन्द्र र स्थलहरूको सुरक्षाका लागि तीन घेरामा सुरक्षा निकाय परिचालन हुनेछन् ।
पहिलो घेरामा निर्वाचन सुरक्षा प्रहरी, गुप्तचर, नेपाल प्रहरी खटिनेछन् । त्यसभन्दा बाहिरको घेरामा सशस्त्र प्रहरी बलको टोली खटिने बताइएको छ । सबैभन्दा बाहिर भने नेपाली सेना परिचालन हुनेछ ।






