TagaroNews
निर्वाचन आचरसंहिता विपरित भवन उद्घाटनमा लमजुङका जनप्रतिनिधि

लमजुङ – बेसीशहर नगरपालिका नगरप्रमुख गुमानसिंह अर्यालले निर्वाचन आचारसंहिताको बर्खिलापमा एक सामुदायिक भवनको उद्घाटन गरेका छन् । 

निर्वाचन आचारसंहिता २०८२ को परिछेद ३ को (घ) मा कुनै योजनाको शिलान्यास गर्ने, उद्घाटन गर्ने, सर्वेक्षण गर्ने, सम्भाव्यता अध्ययन गर्ने वा सोको लागि अनुदान दिने जस्ता कार्यक्रम गर्न नहुने उल्लेख छ । तर, नगर प्रमुख अर्यालले बिहिवार आचारसंहिता विपरीत बेसीशहर नगरपालिका–२, चिसापानी गाउँमा नवनिर्मित सामुदायिक भवनको उद्घाटन गरेका हुन् ।

नगर प्रमुख अर्याल नेकपा एमालेको तर्फबाट दोस्रो पटक बेसीशहर नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका थिए । उनले लमजुङमा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारलाई सहयोग पुग्ने गरी निर्वाचन आचारसंहिता २०८२ परिछेद ३ को (घ) विपरीत चिसापानी गाउँ सामुदायिक भवनको उद्घाटन गरेका हुन् । 

सो कार्यक्रममा उपप्रमुख पद्मा गुरुङ र वडा अध्यक्ष मदन राना समेत सहभागी थिए । उपप्रमुख गुरुङ र वडा अध्यक्ष राना नेकपा एमालेकै तर्फबाट निर्वाचित भएका हुन् । 

निर्वाचन आचारसंहिता २०८२ मा यस्ता कार्य गर्न नहुने स्पष्ट उल्लेख गरिएकोे निर्वाचन अनुगमनकर्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी थम्मन सिंह गौतमले बताए ।

‘निर्वाचन आचारसंहिता लागु भइसकेपछि स्थानीय सरकारका प्रमुख तथा कार्यपालिका सदस्यहरूले कुनै योजनाको उद्घाटन गर्न नपाइने आचारसंहितामा उल्लेख छ । सकेसम्म कार्यक्रममै नजानु भन्ने हो । यस विषयमा उजुरी परिसकेको छ, हामी छलफलमा छौँ । उनले भने ।

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  ०९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update