लमजुङ – गण्डकी प्रदेश सरकारको सहयोगमा प्रदेश अस्पताल लमजुङको परिसरमा आधुनिक एवं सुविधासम्पन्न नयाँ भवन बन्ने भएको छ ।
प्रदेश सरकारबाट प्राप्त हुने ६९ करोड ९७ लाख ६४ हजार २ सय ५८ रुपैँया लगानीमा नयाँ भवन बन्न लागेको हो ।

सेवा प्रवाहका हिसावले उत्कृष्ट रहेको यस अस्पतालको नयाँ भवन निर्माण भएपछि विशेषगरी लमजुङसँगै छिमेकी तीन जिल्ला (मनाङ, तनहुँ र गोरखा) का जनतालाई समेत राहत मिल्ने गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले बताए ।
मन्त्री गुरुङले भने, ‘गण्डकी प्रदेश सरकारको प्राथमिकतामा रहेको प्रदेश अस्पताल लमजुङको भवन निर्माणको काम सुनिश्चित भएको छ । यस अस्पताललाई प्रदेशकै नमूना अस्पताल बनाउने उद्देश्यले मिहेनतका साथ बजेट सुनिश्चित गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत पारित गरेका छौँ, अब गुणस्तरमा सम्झौता नगरी तोकिएको समयभित्रै नयाँ भवन निर्माण गर्नेतर्फ हामी सबैको ध्यान जान आवश्यक छ ।’
उनले भवन निर्माणका लागि स्वास्थ्य मन्त्रालयबाट आवश्यक प्रक्रिया अगाडि बढिसकेको समेत जानकारी दिए । अस्पतालको नयाँ भवन वातावरण एवम् प्रविधि मैत्री, भूकम्प प्रतिरोधी ढाँचामा अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिने मन्त्रालयले जनाएको छ ।

बिरामी र सेवाग्राहीलाई सहज हुनेगरी अस्पतालको नयाँ भवनमा प्रतीक्षालय, अपाङ्गमैत्री संरचना, लिफ्ट, पार्किङ तथा हरित क्षेत्रको समेत व्यवस्था गरिनेछ । यस्तै अत्याधुनिक एवं आकस्मिक, आइसियु र एनआइसियु कक्ष, प्रसूति तथा स्त्री रोग विभाग, सर्जरी ब्लक, आधुनिक प्रयोगशाला, डिजिटल एक्स–रे, सिटी स्क्यान, एमआरआई, मुटु तथा न्यूरो सेवा सञ्चालन हुनेछन् ।
भवन निर्माणसँगै थप सेवासमेत विस्तार गरिने योजना रहेको अस्पताल विकास समितिका अध्यक्ष विजय गुरुङले बताए ।







