TagaroNews
चुनावमा तेस्रो घेरामा सेना
फाइल तस्वीर

काठमाडौँ  - नेपाली सेनाले फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो सुरक्षा जिम्मेवारी स्पष्ट पारेको छ । 

सेनाले निर्वाचनमा तेस्रो घेराको सुरक्षा प्रदान गर्नुका साथै मतदान सम्पन्न भएपछि मतपेटिकालाई सुरक्षित रूपमा मतगणना स्थलसम्म पुर्‍याउने आइतबार विज्ञप्तिमार्फत जनाएको छ ।

नेपाली सेनाको जङ्गी अड्डास्थित जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्तिमा निर्वाचन सुरक्षा व्यवस्थाका सबै कार्यहरू “प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन–२०७४" र “प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना–२०८२" अनुसार सञ्चालन भइरहेको उल्लेख छ । 

विज्ञप्ति अनुसार, विगतका निर्वाचनहरूमा जस्तै यस पटक पनि मतदान समापन भएपछि स्थापित प्रोटोकल अनुरूप मतपेटिका ढुवानी गरिनेछ । जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, निर्वाचन अधिकृत, दलका तोकिएका प्रतिनिधिहरू र नेपाली सेनासहितको एकीकृत टोलीले मतपेटिकालाई मतगणना स्थलसम्म सुरक्षित रूपमा पुर्‍याउने कार्य गर्नेछन् ।

नेपाली सेनाले वि.सं. २०४८ सालको प्रतिनिधि सभा निर्वाचनदेखि नै निर्वाचन सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्दै आएको स्मरण गराएको छ । 

सम्बद्ध सबै निकायहरूसँगको समन्वय र सहकार्यमा एकीकृत सुरक्षा योजनाअनुसार आसन्न निर्वाचनलाई सुरक्षित र भयरहित रूपमा सम्पन्न गराउन आफू पूर्ण प्रतिबद्ध रहेको नेपाली सेनाले स्पष्ट पारेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update