लमजुङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जिल्ला कोषाध्यक्ष बिजयरञ्जन पौडेलले सर्वदलीय बैठकमा नियमविपरित उपस्थित भएर दादागिरी देखाएको पाइएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार सर्वदलीय बैठक बस्ने र २० गते मतदान केन्द्र निर्माण गरिने कार्यतालिका छ ।
सोहि कार्यतालिका अनुसार मध्यनेपाल नगरपालिका–६ निवासी पौडेल आफ्नो मतदान केन्द्र सिद्धि आधारभुत विद्यालयको सर्वदलिय बैठकमा मंगलबार सहभागी भए ।
सो बैठक सकेर उनी, मध्यनेपाल नगरपालिका–१० स्थित गणेशमालिका मावि मतदान केन्द्रमा भएको सर्वदलिय बैठकमा सहभागी हुन पुगे ।
सो केन्द्रका मतदान अधिकृत कल्पना रेग्मीले सर्वदलीय बैठकमा निर्वाचन आचारसंहिताबारे जानकारी गराउँदै थिइन् । उनी सोहि समय त्यहाँ पुगे । अन्य दलका सहभागीले यसरी नियम विपरित बैठकमा बस्न नपाउने अडान राखे । तर, उनले उल्टै आक्रोश व्यक्त गर्दै आफुलाई रास्वपाका उम्मेदवार धर्म केसीले खटाएको हो, कसैसँग डराउँदिन र परि आए जे पनि गर्न सक्ने अभिव्यक्ति दिँदै बैठक खलबलाउन थाले ।
उनको यस्तो हर्कत देखेर तत्कालै सुरक्षाकर्मीले उनलाई बैठक कक्षबाट बाहिर निकाले ।
लगत्तै उनले यस कार्य नियमविपरित गरेको भन्दै गल्ती स्विकारे । अवदेखी यस्तो क्रियाकलाप नगर्ने भन्दै माफि मागेपछि छोडिएको सहायक मतदान अधिकृत बेल बहादुर थापाले जानकारी दिए ।
यता सोहि घट्ना लगत्तै रास्वपा जिल्ला सभापति अशोक सापकोटाले सामाजिक सञ्जालमा लेख्दै मध्यनेपाल–१० को सर्वदलीय बैठकमा नेपाली कांग्रेसको प्रतिनिधिबाट रास्वपा प्रतिनिधि कल्याण थापामाथि हातपात भएको उल्लेख गरेका छन् ।
तर, स्थानीय कांग्रेस नेता शंकर विष्टले भने, कसैमाथि हातपात नभएको भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने कार्य भएको बताएका छन् ।






