TagaroNews
लमजुङमा आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गर्ने पक्राउ 
पक्राउ परेका बगन गुरुङ र उनले प्रयोग गरेको धारिलो हतियार (बन्चरो)

लमजुङ – आफ्नै श्रीमती सहित २ जनालाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा लमजुङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा दोर्दी गाउँपालिका–५, साँधीखोला बस्ने ४५ बर्षीय बगन गुरुङ रहेका छन् । 

घरायसी विषयमा झगडा पर्दा उनले बुधबार बिहानपख आफ्नै श्रीमती ४५ बर्षीय चिज माया गुरुङलाई धारिलो हतियार (बन्चरो) प्रहार गरी घाइते बनाएका थिए । घाइते श्रीमतीको पेट, बाँया हातमा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ । 

झगडा छुट्याउने क्रममा पख्खन गुरुङको प्रहारबाट सोहि ठाउँका ७२ बर्षीय गर्वलाल गुरुङ (नाताले काका पर्ने) र १० बर्षीय अनमोल गुरुङ (सालीको छोरा) घाइते भएका छन् । उनीहरुको टाउकोमा गम्भिर चोट छ । 

घाइतेहरुलाई उपचारका लागि प्रदेश अस्पताल लमजुङ ल्याइएकोमा त्यहाँ सामान्य उपचार पश्चात थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर रिफर गरिएको छ । 

प्रहरीले बगन गुरुङलाई पक्राउ गरी घट्नाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अभिषेक पाण्डेले बताए । 

प्रकाशित मिति: बुधबार, चैत ११, २०८२  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update