लमजुङ – लमजुङमा निर्माण गर्न लागिएको ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाले सङ्घर्ष समितिको बिरोधका बाबजुत पनि आफ्नो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
प्रर्वद्धक दिव्यज्योती हाइड्रोपावर लिमिटेडद्धारा बेसीशहर नगरपालिका वडा नं.१० र ६ र मर्स्याङ्दी गाउँपालिका वडा नं. ८ र ९ स्थित मर्स्याङ्दी नदिमा यस आयोजना निर्माण हुँदैछ ।
आयोजनाले आइतबार आयोजनाको पुरक प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदनको अध्ययन प्रतिवेदन सम्बन्धमा प्रभावित क्षेत्रमा पर्न जाने भौतिक तथा वातावरणीय प्रभावबारे स्थानीय सरोकारवालाहरुका बिच सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो ।

मर्स्याङ्दी गाउँपालिका–८ सिमलचौरमा आयोजना गरिएको सार्वजनिक सुनुवाईमा मर्स्याङ्दी बचाऔं सङ्घर्ष समितिको समूहले यस आयोजना सञ्चालन गर्नुहुँदैन भन्दै यस कार्यक्रमको बिरोध जनाएका थिए ।
सो बिरोधमा एक आपसमा नाराबाजी, ठेमल ठेलसँगै हातपातको अवस्था समेत सृजना भएको प्रहरीले जनाएको छ । सो अवस्थाको बाबजुत पनि आयोजक कम्पनीले आफ्नो सार्वजनिक सुनुवाई सम्पन्न गरेको आयोजनाका प्रोजेक्ट म्यानेजर उमेश नेपालले बताए ।
मर्स्याङ्दी नदीमा कुनै पनि हालतमा जलविद्युत् योजना बन्न नहुने पक्षमा मर्स्याङ्दी बचाऔं सङ्घर्ष समिति रहेको छ । सङ्घर्ष समितिको संयोजकमा बेसीशहरका रामबहादुर थापा, सह संयोजकमा जनकराज बस्नेत, सचिवमा सुरेशकुमार प्रधान, कोषाध्यक्षमा नेत्रबहादुर गुरुङ छन् । समितिमा २७ सदस्य छन् ।

यता आयोजनाले आफ्नो निर्माण कार्य अघि बढाइसकेकाे अवस्था छ । ०७४ असोज १ मा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) स्वीकृत गरेपश्चात ०७५ भदौ १० मा यस आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको थियो ।
करिब १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाबाट साढे दुई वर्षभित्र व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ ।







