मनाङ - हिमाली जिल्ला मनाङमा ठूलो संख्यामा कुकुरको बन्ध्याकरण गरिएको छ । छाडा तथा बेवारिसे १७१ कुकुरको बन्ध्याकरण गरिएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार रेबिज हुनबाट रोक्न यो उपाय अपनाइएको हो ।
कुकुरको संख्या धेरै भएकोले सार्वजनिक ठाउँमा पर्यटक, स्थानीय र अन्य जीव जन्तुलाई टोकेर रेबिज सार्ने भएकोले संख्या वृद्धि हुनबाटै रोक्न लागिएको हो ।
कार्यालयका अनुसार छाडा कुकुर नियन्त्रण गर्ने अभियान अनुरुप जिल्लाका ४ स्थानमा बन्ध्याकरण शिविर राखेर ६५ वटा भाले र १०६ वटा पोथी कुकुरको स्थायी बन्ध्याकरण गरिएको छ ।

यस अभियान गत चैत्र २३ गतेदेखी ०८३ बैशाख १ गतेसम्म सञ्चालन गरिएको थियो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ईलाका संरक्षण कार्यालय मनाङ, एनिमल नेपाल काठमाडौं, अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखरा, जिल्लाको नासों, चामे र ङिस्याङ गाउँपालिका सहित स्थानीय संघ संस्थाहरुको सहयोगमा ९ दिनसम्म शिविर सञ्चालनमा ल्याइएको केन्द्रले जनाएको छ ।

शिविरले छाडा कुकुरहरुको संख्या नियन्त्रणका साथै छाडा कुकुरहरबाट हुने विभिन्न जोखिम समेत घट्ने स्थानीयको विश्वास छ ।






