TagaroNews
कांग्रेस गण्डकी संसदीय दलको सचेतकमा टिकाकुमारी बस्याल

पोखरा – नेपाली कांग्रेस गण्डकी प्रदेशको संसदीय दलले सचेतकमा टिकाकुमारी बस्याललाई नियुक्त गरेको छ ।

संसदीय दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार उनलाई सचेतकमा नियुक्त गरेका हुन् । यसअघि सचेतक रहेका प्रकाश बराललाई प्रमुख सचेतक बनाएपछि उक्त पद रिक्त थियो ।

प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने भने पछिल्लो मन्त्रिपरिषद्मा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका छन् ।

सचेतकले संसदीय दलभित्र समन्वय, बैठक व्यवस्थापन तथा दलका सांसदलाई पार्टी निर्णय अनुसार परिचालन गर्ने जिम्मेवारी हुन्छ । लमजुङकी स्थायी बासिन्दा बस्याल प्रदेश सभामा दलित क्लष्टरबाट समानुपातिक सांसद निर्वाचित भएकी हुन् ।

गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७ प्रदेशसभा सदस्य छन् । यहाँ नेपाली कांग्रेस र नेकपा एमालेले दुई तिहाईसहित प्रदेश सरकार चलाइरहेका छन् । प्रदेशमा एमालेका २२ प्रदेशसभा सदस्य छन् ।

प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३  २३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update