लमजुङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङको निर्वाचनमा सरगर्मी सेलाउन नपाउँदै फेरी तातिएको छ ।
निर्वाचन रद्द गर्न र सभापतिमा निर्वाचित व्यक्तिको पद खारेज गर्न केन्द्रीय निर्वाचन आयोगमा नै उजुरी परेपछि यतिबेला यो विषय निकै चर्चामा आएको हो ।
जिल्ला सभापति पदका उम्मेदवारहरु हरिबहादुर धिताल, विजय रन्जन पौडेल र नवराज पहाडीले सभापति पदमा निर्वाचित भनिएका अशोक सापकोटाको पद रद्द गरी पुनः निर्वाचन गर्न माग गर्दै उजुरी दिएका छन् ।
जेठ २४ गते आइतबार लमजुङ जिल्ला अधिवेशनमा जिल्ला समितिका अन्य पदहरूको अलावा जिल्ला सभापति पदमा जम्मा ५ जनाको उमेदवारी कायम भएको र सभापति पदमा भएको निर्वाचन अवैधानिक भएको भन्दै उनीहरुले उजुरी गरेका हुन् ।
पार्टीको विधान २०७९ (तेश्रो संशोधन सहित)को धारा ३३ उपधारा १ (ख) अनुसार, सभापतिको निर्वाचनमा विजयी उम्मेदवारले सदर मतको ५०.५% मत ल्याउनु पर्ने वा बढी मत कटाउनेबीच पुनः निर्वाचन हुने व्यवस्था उल्लंघन भएको भन्दै निर्वाचन रद्द गर्न माग भएको हो ।
निर्वाचन समिति प्रमुखका रुपमा खटाइएकी रास्वपा गण्डकी प्रदेशका सहमहामन्त्री कृष्णकुमारी अधिकारी (अनिशा)ले कुल सदर मत १७४ को जम्मा ६९ मत अर्थात मतको कुल ३९.६% मात्र प्राप्त गरेका अशोक सापकोटालाई पार्टी विधान र निर्वाचन कार्यविधिका विपरीत गैरकानुनी रुपमा सभापति पदमा निर्वाचित भएको घोषणा गरेको उनीहरुको आरोप छ ।
अनिशाले जेठ २५ गते बिहान ११ बजे पुनः निर्वाचन हुने भनेर जानकारी दिइएको र सभापति पदका अन्य ४ जना उम्मेदवारको कुनै सहमति नलिई एकतर्फी सापकोटा जिल्ला सभापति भएको घोषणा गरी शपथ खुवाउने काम भएको उनीहरुको आरोप छ ।
‘विधि र सुशासनलाई मूल आदर्श मान्ने हाम्रो पार्टीमा यस किसिमको कार्यशैलीले पार्टीको गरिमामा आँच पु-याएको छ,’ उजुरीमा भनिएको छ । सापकोटाको विजय घोषणा र पदबहाली तत्काल खारेज गरी पार्टी विधान बमोजिम पुनः निर्वाचन गराउन उनीहरूको माग छ । सभापति उम्मेदवारहरू हरि बहादुर धिताल, विजय रन्जन पौडेल र नवराज पहाडीले संयुक्त रूपमा उजुरी दर्ता गराएका हुन् ।







