लमजुङ - संघीय सरकारले आगामी आर्थिक वर्षदेखि १०० युनिटमाथिको विद्युत् खपतमा ५ प्रतिशत कर लगाउने तयारी गरिरहेको छ । यहिबेला बेला उत्तरी लमजुङको मर्स्याङ्दी गाउँपालिकाले भने, पालिकाभरका स्थानीयलाई मासिक निःशुल्क बिजुली उपलब्ध गराउने भएको छ ।
गाउँपालिकाले स्थानीयलाई आगामी आवदेखि प्रत्येक घरलाई मासिक ५० युनिटसम्म विद्युत् निःशुल्क दिने घोषणा गरेको हो ।
आगामी आवको नीति तथा कार्यक्रममा प्रत्येक घरलाई ५० युनिट विद्युत् निःशुल्क प्रस्ताव गरेर २१औँ गाउँसभाले पारित गर्दै लागू गर्न लागेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।
आगामी आवको नीति तथा कार्यक्रममा ‘जलविद्युतको आम्दानी, उज्यालो मर्स्याङ्दीमा लगानी’ कार्यक्रमअन्तर्गत उपभोक्ताले मासिक ५० युनिटसम्मको विद्युत् महसुल निःशुल्क पाउने व्यवस्था गरेको हो । यसका लागि गाउँसभा बाट ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।
पालिकाका ९ वटै वडामा ४ हजार ४०९ घरपरिवार रहेका छन् । गाउँपालिकाले आगामी आवमा विद्युत् रोयल्टीबाट करिब ४ करोड आम्दानी हुने अनुमान गरेको छ । पालिकाभित्रका हाइड्रोपावरबाट आएको रोयल्टीमध्येबाट उक्त युनिटसम्मको बिजुली गाउँपालिकाले बिजुली महसुल तिर्ने व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले जानकारी दिए ।

यस गाउँपालिकाभित्र ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’, ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनासहित ८ वटा विभिन्न आयोजनाबाट करिब १०० मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।
छिमेकी बेसीशहर नगरपालिकासँग जोडिनेगरी ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युतलगायतका आयोजना निर्माणाधीन अवस्थामा छन् । उत्पादन बढेसँगै गाउँपालिकाको रोयल्टी आम्दानी पनि बढ्ने गाउँपालिकाको अपेक्षा छ ।
१८ हजार ७५९ जनसङ्ख्या रहेको यस पालिकामा ५० युनिटसम्म बिजुली निःशुल्क हुने भएपछि स्थानीय दंग छन् ।






