लमजुङ – जिल्लाको मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ आफैले चलाएको सवार गाडी दुर्घटनामा परेको छ ।
मर्स्याङ्दी गाउँपालिका–८, भुलभुलेबाट सदरमुकाम बेसीशहर तर्फ गइरहेको गाउँपालिकाको ग १ झ ३३१ नं. को गाडी भुलभुले सुरुङ अघिको पुल नजिकै जलकिने क्षेत्रमा दुर्घटना भएको हो ।
दुर्घटनामा पालिका अध्यक्ष गुरुङको ढाड र खुट्टामा चोट लागेको छ । उनको सदरमुकाम स्थित प्रदेश अस्पताल लमजुङमा उपचार भइरहेको छ ।
गाडी शनिबार बिहान सवा ११ बजेतिर सडकबाट करिब १५ मिटर तल मर्स्याङ्दी नदी किनारतर्फ खस्दा दुर्घटना भएको हो । उक्त गाडिमा अन्य कोहि सवार नरहेको प्रहरीले जनाएको छ ।
घट्नास्थल पुगेका खुदी प्रहरी चौकी प्रमुख रञ्जन अम्गाइका अनुसार अध्यक्ष गुरुङ साइक्लिङ संघ लमजुङद्धारा आयोजित 'प्रथम टुर द लमजुङ २०२६' कार्यक्रममा सहभागी टोलिहरुलाई स्वागत गर्न गाउँपालिकाको प्रवेशद्धार तर्फ जाँदै थिए ।






