लमजुङ - प्रहरीले शरीर बन्धक तथा ज्यान मार्ने उद्योगका दुई फरक घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।
शरीर बन्धक तथा अपराधिक लाभ (एक्सटर्सन) आरोपमा तनहुँ शुक्लागण्डकी–६ बस्ने ३३ बर्षीय अर्जुन खनाललाई पक्राउ गरेको छ भने, ज्यान मार्ने उद्योगमा बेसीशहर नपा–८, झिंगेखोला बस्ने ३२ बर्षीय साजन थापा मगर पक्राउ परेका छन् ।
घट्ना १ :
शरीर बन्धक तथा अपराधिक लाभ (एक्सटर्सन) आरोपमा पक्राउ परेका खनालले गत जेठ २३ गते लमजुङको एक कृषि फार्म सञ्चालकलाई शरीर बन्धक बनाएर विभिन्न दरको चेक जबरजस्ती काट्न लगाएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्र श्रेत्रीले सोहि दिन बिहान साढे ८ बजेतिर मध्यनेपाल नगरपालिका–१, जिता स्थित ग्रिन ग्रो एग्रो फार्मका सञ्चालक भक्तपुर नगरपालिका–७ बस्ने ५६ बर्षिय बलराम साँयजुलाई सोही फार्ममा समाती लडाई, लात्ता मुक्काले प्रहार गरी धारिलो हरियार खुकुरी देखाई खुकुरीको पछाडीको भागले शरिरको बिभिन्न भागमा कुटपिट गरी, शरीर बन्धक बनाई, डर त्रास देखाई मानसिक यातना दिई बिभिन्न दरको जबरजस्ती चेक काट्न लगाएको खुल्न आएको बताए ।
प्रहरीले खनाललाई सुन्दरबजार नगरपालिका–१, कुन्छाबाट साउन १८ गते सोमबार पक्राउ गरेको हो ।
पक्राउ परेका खनाललाई शरीर बन्धक तथा अपराधिक लाभ (एक्सटर्सन) शीर्षकमा जिल्ला अदालतबाट म्याद अनुमती लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घट्ना २ :
यहि साउन १७ गते आइतबार राति मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका–६, प्रगतीटोल घर भई बेसीशहर बस्दै आएका एक युवालाई धारिलो हतियार प्रहार भएको छ ।
आइतबार राति ९ बजेतिर बेसीशहर नगरपालिका–८, सेरा बस्ने ३० बर्षीय सनम तामाङमाथि धारिलो हतियार प्रहार भएको हो ।
मजुवाखोला नजिकै बेसीशहर नपा–८, झिंगेखोला बस्ने ३२ बर्षीय साजन थापा मगरले तामाङमाथि चक्कु प्रहार गर्दै कोखा र कुममा गम्भिर चोट पुर्याएको प्रहरीले जनाएको छ ।
साजन मगरलाई नियन्त्रणमा लिई ज्यान मार्ने उद्दोगमा जिल्ला अदालतबाट म्याद अनुमती लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





