लमजुङ - लमजुङमा घाँटी रेटेर एक वृद्धाको हत्या भएको छ । राइनास नगरपालिका-६, फुलबारी बस्ने ७६ वर्षीया काली सार्कीको घाँटी रेटेर हत्या भएको हो ।
वृद्धा सार्कीको शनिबार राति ९ बजेतिर आफ्नै घरको काेठाभित्र खाटमुनी घाँटी रेटिएर हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
लमजुङका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार, हत्या कसले र किन गर्यो भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।
'धारिलो हतियार प्रयोग गरेर हत्या भएको देखिएको छ ।’, उनले भने, ‘हत्या कसले र किन गर्यो भन्नेबारे हामी अनुुसन्धानमा छौं ।’
थप अनुसन्धानपछि मात्रै घट्नाबारे बताउन सकिने प्रनाउ बस्नेतले जानकारी दिए ।
प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि सदरमुकाम स्थित प्रदेश अस्पताल लमजुङ पठाएको छ ।
मृत फेला परेकी वृद्धा घरमा एक्लै बस्दै आएकी थिइन् । उनका श्रीमान् र छोराको यसअघि नै मृत्यु भइसकेको बुझिएको छ । थप विवरण आउन बाकी छ ।





