लमजुङ - भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि लमजुङ उद्योग वाणिज्य संघले राहत संकलन अभियान सञ्चालन गरेको छ।
अविरल वर्षासँगै आएको बाढीका कारण भोटेकोशी तथा त्रिशूली क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि पीडित परिवारलाई तत्काल आवश्यक राहत उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको लमजुङ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिका सचिव तीर्थ घलेले बताइन्।
बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको र प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतको आवश्यकता अझै रहेकाले लमजुङबाट एकीकृत राहत अभियान सञ्चालन गर्न लागिएको संघले जनाएको छ।
संघले राहतका लागि नगद तथा जिन्सी सामग्री सहयोग स्वीकार गर्ने जनाएको छ। संकलित सहयोग आवश्यकताको पहिचान गरी प्रभावित क्षेत्रमा पुर्याउने व्यवस्था गरिने बताइएको छ।
संघले उद्योगी, व्यवसायी, संघसंस्था तथा सर्वसाधारणलाई खाद्यान्न, लत्ताकपडा, औषधि तथा स्वास्थ्य सामग्री, सरसफाइका सामग्रीलगायत अत्यावश्यक सामग्री सहयोग गर्न आह्वान गरेको छ।
महिला उद्यमी विकास समितिकी उपाध्यक्ष भवानी थापाले विपद्को समयमा पीडितलाई सहयोग गर्नु सबैको साझा मानवीय दायित्व भएको बताउँदै अभियानमा सहभागी हुन आग्रह गरिन्।
उनले भनिन्, “आपतमा परेकालाई साथ दिऔँ, मानवीय सेवामा हात बढाऔँ। आउनुहोस्, पीडितहरूका लागि हामी सबै एकजुट होऔँ।”
लमजुङ उद्योग वाणिज्य संघ, बेसीशहरको सानो सहयोगले पनि विपद्मा परेका परिवारलाई ठूलो राहत पुग्ने भन्दै राहत संकलन अभियानमा सहभागी हुन उद्योगी, व्यवसायी, संघसंस्था तथा सर्वसाधारण सबैमा अपिल गरेको छ।




