TagaroNews
बाढी प्रभावितलाई त्रिभुवन क्याम्पसको डेढ लाख सहयोग 

तनहुँ – भानु नगरपालिका–११, मानेचौका स्थित त्रिभुवन क्याम्पसले रसुवाको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा डेढ लाख रुपैँया जम्मा गरेको छ । 

बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोर्खालगायतका जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएकोप्रति विश्वविद्यालयले दुःख व्यक्त गर्दै १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको हो ।

क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरू र क्याम्पसको आन्तरिक स्रोतबाट संयुक्त रूपमा सो रकम सहयोग गरेको क्याम्पस प्रमुख रबिन्द्र राज जोशीले बताए ।

भदौ १० गते भोटेकोशी नदीमा आएको भिषण बाढी का कारण रसुवा जिल्ला लगायत देशका विभिन्न स्थानमा भएको ठूलो जनधनको क्षतिप्रति क्याम्पस परिवारले गहिरो दुःख व्यक्त गरेको छ ।

क्याम्पस संचालक समिती अध्यक्ष विमल राज जोशीले यस सहयोग वास्तविक विपद् प्रभावित तथा पीडित परिवारसम्म पुगेर उनीहरूको पीडा कम गर्न केही हदसम्म सहयोगी बन्नेछ भन्ने आशा व्यक्त गरे ।

क्याम्पस परिवारले बाढी तथा विपद्का कारण ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । 

साथै, विपतमा परी विभिन्न स्थानमा फसेका तथा प्रभावित नागरिकहरूको यथाशीघ्र उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रभावकारी पहलको कामना समेत गरेको छ । 

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update