पोखरा - गण्डकी प्रदेश सरकारमा नेपाल समाजवादी पार्टी (नेसपा)का फणीन्द्र देवकोटा पुनः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार देवकोटालाई मन्त्री पदको शपथ गराएका हुन्।
देवकोटाले यसअघि पनि गण्डकी सरकारमा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। जेन–जी आन्दोलनपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए। सरकारबाट बाहिरिएपछि पनि उनले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारलाई समर्थन गर्दै आएका थिए।
यसैबीच, कांग्रेसबाट यसअघि ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री रहेका नन्दप्रसाद न्यौपानेलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ।
एमालेका चार मन्त्रीले सामूहिक राजीनामा दिएपछि गण्डकी प्रदेश सरकारका चार मन्त्रालय रिक्त भएका थिए। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र स्वास्थ्य मन्त्रालय भने यसअघि मुख्यमन्त्री पाण्डेले नै सम्हाल्दै आएका थिए।
देवकोटाको पुनः नियुक्तिसँगै गण्डकी प्रदेश सरकारमा मन्त्रालयको जिम्मेवारी पुनः बाँडफाँट गरिएको हो।





