मनाङ – हिमाली जिल्ला मनाङको नासों गाउँपालिका–२ मा अवस्थित डना हिमताल विस्फोटको गम्भीर जोखिममा परेपछि यस क्षेत्रका बासिन्दा तथा सरोकारवालाहरू चिन्तित बनेका छन् ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम, युएनडिपी तथा इसिमोडको अध्ययनले पनि नेपालका उच्च जोखिमयुक्त हिमतालहरूको सूचीमा राखेको यस डना तालको पछिल्लो अवस्थाबारे सरकारले तत्काल विस्तृत अध्ययन र प्राविधिक सर्वेक्षण गर्नुपर्ने माग चौतर्फी रूपमा उठ्न थालेको छ ।
नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्वमन्त्री देव गुरुङले सामाजिक सञ्जाल मार्फत डना हिमतालको जोखिमपूर्ण स्थितिप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै अविलम्ब स्थलगत नापजाँच र सुरक्षा रणनीति अपनाउन जोडदार माग गरेका छन् ।
नेता गुरुङले आफ्नो पोस्टमा लेखेका छन् “यो हिमताल जोखिममा रहेको भनेर विगतमा पटक पटक त्यहाँ स्थलगत भ्रमण गर्नेहरूले बताएका थिए । तर अहिलेसम्म भरपर्दो सर्वेक्षण नभएकोले तल्लो मर्स्याङ्दी किनारका तटवर्तीय क्षेत्रमा जोखिम निरन्तर रहिरहेको छ । अतः उक्त डना तालको जोखिमको स्थितिबारे अविलम्ब सर्भे गरियोस् भनि नेपाल सरकारसँग जोडदार माग गर्दछु ।”
डना तालको भौगोलिक जोखिम के हो ?
डना हिमताल समुद्री सतहदेखि करिब ४ हजार १०० मिटरको उचाइमा मनास्लु हिमालको उत्तर–पश्चिमी फेदीमा अवस्थित छ । मस्र्याङ्दी नदीको किनारमा रहेको धारापानी पर्यटकीय क्षेत्रबाट पूर्वतर्फ बग्ने मस्र्याङ्दीको शाखा खोला-डना खोलाको मूल स्थानमा यो ताल रहेको छ ।
भौगोलिक रूपमा उत्तर–पश्चिमदेखि दक्षिण–पूर्वतर्फ लामो आकारमा फैलिएको यस हिमतालको लम्बाइ करिब ३२ सय मिटर र चौडाइ ३५४ मिटर रहेको तथ्यांक छ । पछिल्ला वर्षहरूमा विश्वव्यापी जलवायु परिवर्तन र तापमान वृद्धिका कारण हिमनदीहरू पग्लिने क्रम तीव्र हुँदा तालमा पानीको आयतन अत्यधिक बढेको र यसको प्राकृतिक बाँध कमजोर बन्दै गएको विगतमा स्थलगत भ्रमण गर्ने विज्ञ तथा टोलीहरूले औंल्याउँदै आएका छन् ।
तल्लो तटीय क्षेत्र ठूलो संकटमा पर्ने चेतावनी
डना ताल विस्फोट भएको खण्डमा डना खोला हुँदै आउने भीषण बाढीले नासों गाउँपालिकाका धारापानी, तालगाउँ लगायत मर्स्याङ्दी नदीको किनारमा रहेका लमजुङ, तनहुँ र गोरखाका हजारौं तटीय बस्तीहरू, जलविद्युत आयोजनाहरू, पुल तथा सडक पूर्वाधारहरू क्षणभरमै सखाप पार्न सक्ने प्राविधिकहरूको चेतावनी छ ।
विगतमा पनि यस क्षेत्रका पदमार्ग र पुलहरू बाढीका कारण क्षतविक्षत भइसकेका छन् । विज्ञहरूका अनुसार यस्ता संवेदनशील तालहरूको पानीको सतह घटाउने, वा पूर्वसूचना प्रणाली जडान गर्ने कार्यमा सरकारले ढिलाइ गर्दा ठूलो धनजनको क्षति बेहोर्नुपर्ने अवस्था आउन सक्छ ।
मनसुनको समयमा र त्यसलगत्तै हिमाली क्षेत्रमा हुने प्राकृतिक फेरबदललाई मध्यनजर गर्दै मर्स्याङ्दी बेसिनका बासिन्दाले सरकारसँग तत्काल वैज्ञानिक टोली खटाई डना तालको वस्तुस्थिति सार्वजनिक गर्न माग गरेका छन् ।






