बेसीशहरमा आयोजित कार्यक्रममा पूर्वसूचना प्रणाली, सुरक्षित आश्रयस्थल र जलविद्युत् आयोजनाको सुरक्षा तयारीलाई प्राथमिकता दिन आग्रह।
लमजुङ- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट पाठ सिक्दै लमजुङको मर्स्याङ्दी र दोर्दी नदी क्षेत्रमा सम्भावित बाढी तथा पहिरोको जोखिम न्यूनीकरणका लागि बेँसीशहरमा विपद् पूर्वतयारीसम्बन्धी सचेतना कार्यक्रम आयोजना गरिएको छ ।
बेसीशहरस्थित शान्तिटोल तमु समाजमा सोमबार लाहोरर्निपको सहयोग र एफपिक अधिकार मञ्चको आयोजनामा भएको कार्यक्रममा हिमताल फुट्ने, हिमपहिरो र पहिरोका कारण एक्कासी आउने बाढीबाट हुन सक्ने जनधनको क्षति कम गर्न समयमै तयारी आवश्यक रहेकोमा जोड दिए ।
एफपिक अधिकार मञ्चका फोकल पर्सन खेमजंग गुरुङले मस्र्याङ्दी र दोर्दी नदी प्रणालीमा रहेका हिमताल तथा हिमनदीका कारण भविष्यमा आकस्मिक बाढी आउन सक्ने जोखिमबारे प्रस्तुतीकरण गर्दै जोखिमयुक्त बस्तीको पहिचान, पूर्वसूचना प्रणाली, सुरक्षित आश्रयस्थल र उद्धार संयन्त्रलाई प्रभावकारी बनाउनुपर्ने बताए ।
कार्यक्रममा भोटेकोशी बाढीबाट भएको ठूलो क्षतिलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै त्यस्तो अवस्था लमजुङमा दोहोरिन नदिन स्थानीय समुदाय, जनप्रतिनिधि र सरकारी निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको सहभागीहरूले बताएका थिए ।

हिमताल फुटे बाढी अझ विनाशकारी
कार्यक्रममा प्रस्तुत अध्ययनअनुसार जलवायु परिवर्तनका कारण हिमनदी तीव्र गतिमा पग्लिँदा हिमतालमा पानीको मात्रा बढिरहेको छ । यस्ता हिमताल फुटेमा ढुंगा, बालुवा, माटो र रुखसमेत बगाएर ल्याउने भएकाले त्यस्तो बाढी सामान्य बाढीभन्दा धेरै विनाशकारी हुन सक्छ ।
मस्र्याङ्दी नदीको जलप्रणाली मनाङका हिमताल र हिमनदीसँग जोडिएको छ भने दोर्दी खोलाको शिर क्षेत्रमा मेमे पोखरीसहित अन्य हिमतालहरू रहेका छन् । दोर्दी खोलाको साँघुरो र गहिरो भूगोलका कारण त्यहाँ आउने आकस्मिक बाढीले ठूलो क्षति पु¥याउन सक्ने जोखिम अध्ययनले औँल्याएको छ ।
अध्ययनले जोखिमयुक्त बस्तीको पहिचान, पूर्वसूचना प्रणालीको विस्तार, सुरक्षित आश्रयस्थल, उद्धार सामग्री र आपत्कालीन स्वास्थ्य सेवाको व्यवस्था गर्न सुझाव दिएको छ । विद्यालयस्तरबाट नियमित विपद् अभ्यास सञ्चालन गर्न तथा स्थानीय तहको उद्धार संयन्त्रलाई थप सक्षम बनाउनुपर्नेमा पनि जोड दिइएको छ।
जलविद्युत् आयोजना पनि जोखिममा
बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल र दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले मस्र्याङ्दी नदी र दोर्दी खोला करिडोरमा सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजनाहरू सम्भावित आकस्मिक बाढीको जोखिममा रहेकाले थप प्राविधिक अध्ययन र प्रभावकारी सुरक्षा पूर्वतयारी आवश्यक रहेको बताए। उनीहरूले आयोजना सुरक्षासँगै आसपासका बस्तीको संरक्षणलाई पनि समान प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

जनप्रतिनिधिको सहभागिता
शान्तिटोल तमु बाबा समूहका अध्यक्ष क्या.चित्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता भीम राई प्रमुख अतिथि थिए । बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी र उपाध्यक्ष विच्छबहादुर घले, जनप्रतिनिधि, स्थानीयवासी तथा सरोकारवालाको सहभागिता रहेको थियो ।

सहभागीहरूले प्राकृतिक विपद् न्यूनीकरणका लागि स्थानीय तह, सरकारी निकाय र समुदायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।





