TagaroNews
चितुवा उद्धारमै प्रश्न : पिँजडाबाट कसरी फुत्कियो ?

लमजुङ - बिरामी अवस्थामा उद्धार गरिएको चितुवा डिभिजन वन कार्यालय बेसीशहरको परिसरबाटै पिँजडा भत्काएर फुत्किएपछि वन्यजन्तु उद्धार र स्थानान्तरणको सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ। चितुवालाई अर्को पिँजडामा सार्ने क्रममा एक वनरक्षक घाइते भएका छन् भने घटनाले बेसीशहर बजार क्षेत्रमा रातभर त्रास फैलाएको थियो।

बेसीशहर नगरपालिका–११ चितीको तिलाहार–कार्कीडाँडा सडकअन्तर्गत धङ खोलामा बिहीबार दिउँसो अशक्त अवस्थामा भेटिएको चितुवालाई स्थानीय, प्रहरी र वन कर्मचारीको टोलीले उद्धार गरेको थियो। त्यसलाई अपराह्न डिभिजन वन कार्यालय बेसीशहर ल्याएर कास्कीको पचभैयास्थित उद्धार केन्द्र पठाउने तयारी भइरहेको थियो। तर कार्यालय परिसरमै अर्को पिँजडामा सार्ने क्रममा चितुवाले खोर भत्काएर फुत्कियो।

उद्धारपछि सुरक्षा व्यवस्थामाथि प्रश्न
डिभिजन वन कार्यालय लमजुङका प्रमुख शिव श्रेष्ठका अनुसार चितुवा बिरामीजस्तो देखिएकाले जोखिम कम ठानिएको थियो। ‘पिँजडामा थियो, त्यसमाथि बिरामी अवस्थामा पनि थियो । हामीले सामान्य ठानेका थियौँ, त्यहीँ यस्तो घट्ना भयो’, उनले भने ।

यहीँबाट मुख्य प्रश्न उठेको छ, अशक्त भनिएको चितुवालाई अर्को पिँजडामा सार्दा आवश्यक सुरक्षा मापदण्ड अपनाइएको थियो कि थिएन ? प्रयोग गरिएको पिँजडा पर्याप्त बलियो थियो कि थिएनरु स्थानान्तरणका क्रममा सुरक्षित दूरी, नियन्त्रण उपकरण र आवश्यक सुरक्षात्मक सामग्री प्रयोग गरिएको थियो कि थिएनरु यी सबै विषय अब समीक्षा हुनुपर्ने देखिन्छ।

वनरक्षक घाइते
चितुवा सार्ने क्रममा नजिकै रहेका ५७ वर्षीय वनरक्षक बुद्धिजङ गुरुङमाथि चितुवाले आक्रमण गरेको थियो। उनको देब्रे हात र अनुहारमा चोट लागेको छ। प्रदेश अस्पताल बेसीशहरमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

चितुवाको आक्रमणपछि घाईते भएका बुद्धिजङ गुरुङको प्रदेश अस्पताल बेसीशहरमा उपचार हुदैँ । 

रेस्क्यु सेन्टर लैजानुअघि नै जोखिम
वन कार्यालयका अनुसार चितुवा दिउँसो करिब साढे ३ बजे उद्धार गरिएको थियो। बेसीशहर ल्याउँदा करिब ५ बजेको थियो। त्यसपछि कास्कीको पचभैयास्थित रेस्क्यु सेन्टर पठाउने तयारी भइरहेका बेला अर्को पिँजडामा सार्ने क्रममा चितुवा फुत्किएको हो।

घटनाले उद्धारस्थलदेखि कार्यालय हुँदै रेस्क्यु सेन्टरसम्म वन्यजन्तु स्थानान्तरण गर्ने प्रक्रियामा पर्याप्त जोखिम मूल्यांकन र सुरक्षा मापदण्ड अपनाइएको थियो कि थिएन भन्ने प्रश्न उठाएको छ। स्थानान्तरणको जिम्मेवारी डिभिजन वन कार्यालयकै नेतृत्वमा रहेको थियो। कार्यालय प्रमुख शिव श्रेष्ठले पनि बिरामी ठानेर चितुवाको जोखिम कम हुने र आवश्यक सतर्कता अपनाउन नसकिएको स्वीकार गरे।

बिहान पुनः नियन्त्रण
चितुवा रातभर डिभिजन वन कार्यालय परिसरमै रहेको थियो। शुक्रबार बिहान पचभैयाको उद्धार केन्द्रबाट आएको प्राविधिक टोली र प्रहरीको सहयोगमा चितुवालाई पुनः नियन्त्रणमा लिएर पोखरा पठाइएको प्रमुख श्रेष्ठले बताए।

घटनापछि कार्यालयमा प्रहरी परिचालन गरिएको थियो भने कर्मचारीलाई कार्यालयभित्रै बस्न भनिएको थियो। चितुवा बाहिर निस्किएमा बेसीशहर बजार क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाइएको थियो।

विशेषगरी उद्धार गरिएको चितुवाको अवस्था, प्रयोग गरिएको पिँजडाको अवस्था, चितुवालाई अर्को पिँजडामा सार्ने निर्णय, त्यस क्रममा अपनाइएको सुरक्षा विधि र वनरक्षकलाई आवश्यक सुरक्षा उपकरण उपलब्ध गराइएको थियो कि थिएन भन्ने विषयको जवाफ सम्बन्धित निकायबाट आउनुपर्ने देखिन्छ।

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update