TagaroNews
लमजुङ राईनासमा घरभित्रै बन्दुक बनाउने गिरोह पक्राउ
AI निर्मित सांकेतिक तस्वीर

लमजुङ – लमजुङको राईनास नगरपालिका–९ साउनेपानीमा अवैध रूपमा भरुवा बन्दुक उत्पादन र मर्मत गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले हतियार र विभिन्न पार्टपुर्जासहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा स्थानीय ५७ वर्षीय प्रेम विनोद कामी विश्वकर्मा र ४३ वर्षीय दिल बहादुर विश्वकर्मा रहेका छन् ।

विशेष गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरीक्षक चन्द्रकला भट्टराई र प्रहरी चौकी तार्कुघाटको संयुक्त टोलीले शनिबार साँझ प्रेम विनोदको घरमा छापा मारेको थियो । 

खानतलासीका क्रममा प्रहरीले बन्दुक बनाउन प्रयोग हुने भारी परिमाणमा हतियारका पार्टपुर्जाहरू बरामद गरेको छ । 

बरामद गरिएका सामग्रीहरू
- बन्दुकको बट बनाउन तयार पारिएका २ फिट ८ इन्च लामा काठका टुक्राः ५ थान
- ब्यारेल नभएका पुराना भरुवा बन्दुक र बटहरूः ८ थान
- बन्दुकमा प्रयोग गरिने फलामको ब्यारेलः १० थान
- मर्मतमा प्रयोग हुने चापघोडा, फलामको चिम्टी र चामपाटा लगायतका साना फलामका टुक्राहरू

पक्राउ परेका दुवै जनालाई हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक ज्ञानेन्द्र क्षेत्रीले बताए ।

उनका अनुसनर जिल्ला सरकारी वकील कार्यालय मार्फत लमजुङ जिल्ला अदालतमा उपस्थित गराइएका उनीहरूलाई अनुसन्धानका लागि ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update