TagaroNews
प्रेस युनियन लमजुङमा अधिकारी चयन, पत्रकार कोष स्थापना

लमजुङ- नेपाल प्रेस युनियन लमजुङ शाखाको ८औँ अधिवेशनले निरज अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। अधिवेशनले कार्यसमितिका साथै केन्द्रीय र प्रदेश प्रतिनिधिहरू समेत चयन गरेको छ।

नवगठित कार्यसमितिको पहिलो बैठकले जिल्लाका श्रमजीवी पत्रकारहरूको हितलाई ध्यानमा राख्दै प्रेस युनियन आपतकालीन पत्रकार कल्याणकारी कोष स्थापना गर्ने महत्वपूर्ण निर्णय गरेको छ।

जिल्लामा क्रियाशील पत्रकारहरू भवितव्यमा पर्दा, गम्भीर बिरामी हुँदा वा अन्य कुनै पनि किसिमको संकटमा पर्दा तत्कालै आर्थिक तथा भौतिक सहयोग पुर्‍याउने उद्देश्यले यो कोष स्थापना गर्न लागिएको हो। एक निश्चित रकम जम्मा गरेर कोषको सुरुवात गरिने र यसलाई क्रमशः वृद्धि गर्दै लगिने युनियनले जनाएको छ।

अधिवेशनबाट उपाध्यक्षमा जिबि घिमिरे, उपाध्यक्ष (समावेशी)मा दिलु तामाङ र सचिवमा विराट न्यौपाने चयन भए । यस्तै सह-सचिवमा समिता पौडेल, कोषाध्यक्षमा सुजन बानिया निर्वाचित भए । यस्तै खुल्ला सदस्यमा सञ्जय गुरुङ, महिला सदस्यमा शोभा ठकुरी, आदिवासी जनजाति सदस्यमा सोमराज गौचन चयन भएका छन् ।

अधिवेशनबाट केन्द्रीय प्रतिनिधिमा रामजी राना, शान्ता कमली, आस  गुरुङ, ऋषि अधिकारी र सृजना बराल घिमिरे चयन भए । यता प्रदेश प्रतिनिधिमा सन्तोष पौडेल, सन्देश पौडेल र बसन्ता भट्ट रहे । नवनिर्वाचित सभापति निरज अधिकारीले कार्यसमितिको पहिलो बैठकबाटै श्रमजीवी पत्रकारहरूको सुख-दुःखमा साथ दिने गरी कल्याणकारी कार्यको सुरुवात गरिएको बताए । 

मोफसलमा जोखिमका बीच पत्रकारिता गरिरहेका श्रमजीवीहरूका लागि यो कोषले संकटको सारथीका रूपमा काम गर्ने विश्वास शाखाले लिएको छ।

नवनिर्वाचित अध्यक्ष अधिकारी नेपाल पत्रकार महासंघ लमजुङ शाखाको कोषाध्यक्ष एवं सूचना अधिकारी समेत हुन् । 

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  २०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update