TagaroNews
कांग्रेस : इतिहासको गौरव, भविष्यको भरोसा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया अहिले तल्लो तहबाट क्रमशः माथिल्लो तहमा अघि बढिरहेको छ । वडा अधिवेशन सम्पन्न भएसँगै पालिका तहका अधिवेशन पनि सम्पन्न भएका छन् । अब असोज १० गते प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन हुँदैछ । त्यसपछि केन्द्रीय महाधिवेशनको प्रक्रिया अघि बढ्नेछ । पार्टिले  सार्वजनिक गरेको कार्यतालिका मा केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुँदैछ । जिल्ला र प्रदेश अधिवेशनको समयतालिका भने पछि प्रकाशित गरिने जनाइएको छ ।

यो प्रक्रिया केवल एउटा राजनीतिक दलको सांगठनिक गतिविधि मात्र होइन, लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण उदाहरण पनि हो । वडा तहबाट प्रतिनिधि छनोट हुँदै केन्द्रसम्म नेतृत्व र नीति निर्माणको प्रक्रिया अघि बढ्नु आफैँमा लोकतन्त्रको अभ्यास हो । मत, विचार, बहस र प्रतिस्पर्धामार्फत नेतृत्व चयन गर्ने संस्कारले राजनीतिक दललाई जीवन्त बनाउँछ ।

नेपाली कांग्रेसको इतिहासलाई हेर्दा नेपालको राजनीतिक परिवर्तनमा यसको भूमिका महत्वपूर्ण रहँदै आएको छ । प्रजातान्त्रिक आन्दोलनदेखि लोकतान्त्रिक गणतन्त्र स्थापनासम्मका विभिन्न चरणमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको इतिहास छ । संविधान निर्माण, लोकतान्त्रिक अधिकारको संस्थागत विकास तथा राजनीतिक परिवर्तनका विभिन्न मोडमा कांग्रेसको योगदानलाई अलग गरेर नेपालको राजनीतिक इतिहास पूर्ण हुँदैन ।

आज नेपाली नागरिकले आफ्ना कुरा खुला रूपमा राख्न पाउने, लेख्न र बोल्न पाउने तथा आफ्नो राजनीतिक विचार व्यक्त गर्न पाउने वातावरण निर्माण हुनु लामो लोकतान्त्रिक संघर्षको परिणाम हो । नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने र तत्कालीन विद्रोही माओवादीलाई शान्तिपूर्ण राजनीतिक मूलधारमा ल्याउने प्रक्रियामा पनि कांग्रेससहित विभिन्न राजनीतिक शक्तिको भूमिका रह्यो । 

कांग्रेसका लागि आजको प्रश्न विगतको योगदान सम्झेर मात्र बस्ने होइन, आगामी दिनमा आफूलाई कसरी रूपान्तरण गर्ने भन्ने हो । कांग्रेस हुँ भन्नुपर्दा शिर झुकाउनुपर्ने अवस्था होइन, आफ्नो इतिहास, योगदान र लोकतान्त्रिक मूल्यप्रति गर्व गर्दै शिर उच्च पार्न सक्ने राजनीतिक संस्कार निर्माण गर्नुपर्ने आवश्यकता हो ।

यसका लागि विगतका कमजोरी बाट सिक्न सक्नुपर्छ । कुनै पनि राजनीतिक पार्टी  त्रुटिरहित हुँदैन । समयसँगै समाज बदलिन्छ, नागरिकका अपेक्षा बदलिन्छन् र राजनीतिको शैली पनि बदलिनुपर्छ । त्यसैले कांग्रेसले आफूलाई समयअनुकूल सुधार्दै लैजानु पर्छ र जमर्को पनि भएको छ ।

वर्तमान सभापति गगनकुमार थापाको नेतृत्वमा कांग्रेसले संगठन, नीति र राजनीतिक शैलीलाई नयाँ ढंगले अघि बढाउने प्रयास गरिरहेको छ ।  नेतृत्व तहमा नयाँ पुस्ताको उपस्थिति धेरै नै राम्रो छ। अब यो परिवर्तन केवल नेतृत्वमा पुस्तान्तरण हुने विषयमा सीमित नभई विचार, संगठन, कार्यशैली र नागरिकसँगको सम्बन्धमा समेत देखिन आवश्यक छ ।

आजको कांग्रेस नागरिकले खोजेको कांग्रेस बन्नुपर्छ । रहर लाग्दो मात्र होइन, भरोसा गर्न योग्य  हुनुपर्छ । सबै वर्ग, समुदाय, भूगोल र पुस्तालाई समेटेर अघि बढ्न सक्ने कांग्रेस आवश्यक छ । नागरिकका दैनिक समस्या, बेरोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सुशासन र अवसरका विषयमा जनतासँगै उभिने कांग्रेस आवश्यक छ ।

राजनीतिक दलको शक्ति केवल निर्वाचन जित्ने क्षमतामा हुँदैन । जनताको सुख–दुःखमा कति जोडिन सक्छ, गलत प्रवृत्तिविरुद्ध कति स्पष्ट रूपमा उभिन सक्छ र आफ्नै कमजोरी सच्याउन कति तयार हुन्छ भन्ने कुराले पनि राजनीतिक दलको विश्वास निर्माण गर्छ ।

त्यसैले आगामी कांग्रेसले अग्रजहरूको अनुभवलाई सम्मान गर्दै युवाको ऊर्जा र नयाँ पुस्ताको सोचलाई सँगसँगै अघि बढाउनुपर्छ । अग्रजको अनुभव र युवाको उत्साहबीचको समन्वयले संगठनलाई थप गतिशील बनाउन सक्छ । नेतृत्वमा पुस्तान्तरणसँगै जिम्मेवारी, जवाफदेहिता र राजनीतिक संस्कारको पनि विकास हुनुपर्छ ।

१५औँ महाधिवेशन कांग्रेसका लागि नेतृत्व चयन गर्ने एउटा अवसर मात्र होइन, आफूलाई पुनःपरिभाषित गर्ने अवसर पनि हो । वडा तहदेखि केन्द्रसम्म भइरहेको लोकतान्त्रिक अभ्यासले कांग्रेसलाई संगठनात्मक रूपमा मात्र होइन, वैचारिक रूपमा पनि नयाँ दिशा दिन सक्नुपर्छ ।

नेपालको लोकतान्त्रिक यात्रामा आफ्नो योगदानलाई सम्मान गर्दै कांग्रेसले अब भविष्यतर्फ हेर्नुपर्ने बेला आएको छ। विगतको गौरवलाई आधार बनाउँदै वर्तमानका कमजोरी सुधार्ने र भविष्यका चुनौती सामना गर्ने कांग्रेस निर्माण आजको आवश्यकता हो ।

लोकतन्त्रको रक्षा गर्ने दलले आफैँभित्र लोकतान्त्रिक अभ्यासमा बलियो हुनुपर्छ । त्यसैले अधिवेशनको प्रतिस्पर्धा व्यक्तिको जित–हारमा सीमित नभई विचार, नीति, संगठन र नागरिकप्रतिको जिम्मेवारीको प्रतिस्पर्धा बन्नुपर्छ । 

कांग्रेसको आगामी यात्रा कस्तो हुन्छ भन्ने कुरा महाधिवेशनबाट चुनिने नेतृत्वसँग मात्र होइन, वडा तहदेखि केन्द्रसम्म सहभागी हुने प्रत्येक प्रतिनिधिको राजनीतिक विवेक र जिम्मेवारीसँग जोडिएको छ । यही लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्दै कांग्रेसले आफूलाई अझ खुला, समावेशी, उत्तरदायी र नागरिककेन्द्रित बनाउन सकेमा पार्टी को ऐतिहासिक योगदानले नयाँ अर्थ पाउने छ । 

लेखक राइनास निवासी न्यौपाने नेपाली कांग्रेस लमजुङका सदस्य र पेशाले ईञ्जिनियर हुनुहुन्छ ।

प्रकाशित मिति: बुधबार, असोज ७, २०८३  २२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update