TagaroNews
लमजुङमा डाँका, चोरी र आगजनीका घटनामा संलग्न चार जना पक्राउ

लमजुङ - जिल्ला प्रहरी कार्यालय लमजुङले डाँका चोरी तथा आपराधिक उपद्रवसम्बन्धी घटनामा फरार रहेका चार जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार मर्स्याङ्दी गाउँपालिका–३ थाकनमा ९३ वर्षीया वृद्धा महिलालाई बाँधेर गरगहना चोरी गरेको आरोपमा बेसीशहर नगरपालिका–१० खासुर घर भई वडा नं. ७ सहजीमा डेरा गरी बस्ने ३८ वर्षीय टंकबहादुर गुरुङ पक्राउ परेका छन्।

गत असोज ३ गते दिउँसो करिब साढे ३ बजे अपरिचित व्यक्तिले वृद्धाको हात र मुख कपडाले बाँधेर कानमा लगाएको सुनको औंठी, मुन्द्रा र नाकको फुली गरी करिब एक तोला सुनका गरगहना चोरी गरेको प्रहरीको भनाइ छ। घटनापछि अनुसन्धानका क्रममा शंकास्पद अवस्थामा हिँडिरहेका गुरुङलाई पक्राउ गरी उनको डेरा कोठाबाट चोरीका सामान तथा अन्य सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ। उनलाई जिल्ला अदालत लमजुङबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

त्यस्तै, नक्कली पेस्तोल देखाएर डाँका चोरी गरेको आरोपमा दोर्दी गाउँपालिका–६ द्वारका २९ वर्षीय सुमन तामाङ र सोही स्थानका सन्तोष भनिने बुद्धिमान राना मगर पक्राउ परेका छन्।

गत भदौ २८ गते राति करिब १ बजे तीन जनाको समूहले अनुहारमा प्लास्टिकको नकाब लगाएर नक्कली पेस्तोल देखाउँदै ६५ वर्षीया पानमाया तामाङको घरको मूल ढोका तथा दराज फुटाई करिब ७६ हजार रुपैयाँ नगद र साढे २ तोला सुनको बटारेको बाला चोरी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

त्यसपछि उनीहरूले नजिकै रहेको दिलबहादुर सार्कीको घरमा समेत प्रवेश गरी नक्कली पेस्तोल देखाएर सुनचाँदी तथा नगद माग्दै लुटपाट गरेको प्रहरीले जनाएको छ। परिवारका सदस्यले चिच्याएपछि उनीहरू फरार भएका थिए। अनुसन्धानका क्रममा तामाङ र राना मगर पक्राउ परेका हुन्। उनीहरूलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैगरी, बेसीशहर नगरपालिका–३ गाउँशहरका २८ वर्षीय सरोज दुलाललाई पार्किङमा राखिएको मोटरसाइकलमा आगजनी गरेको आरोपमा पक्राउ गरिएको छ।

गत असोज २ गते राति करिब १० बजे प्रेमबहादुर परियारले घरबाहिर पार्किङ गरी राखेको ग ११ प ६७५३ नम्बरको २२० सीसी पल्सर मोटरसाइकलमा आगो लगाएर फरार भएको आरोप दुलालमाथि छ। उनलाई असोज ६ गते बेसीशहर–८ सेराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

दुलाललाई पनि जिल्ला अदालत लमजुङबाट आपराधिक उपद्रवसम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेद्रबहादुर क्षेत्रीले जानकारी दिए । 

प्रहरीले पक्राउ परेका सबै घटनामा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update