मनाङ – स्थानीय खोलामा आएको बाढी र मर्स्याङ्दी नदी थुनिँदा त्रसित बनेर जङ्गल, सामुदायिक भवन तथा सेनाको ब्यारेकमा रात बिताएका मनाङको सदरमुकाम चामेका बासिन्दा सोमबार बिहान मौसम खुलेसँगै घर फर्किन थालेका छन् ।
आइतबार ठाडो खोला र खट्टे खोलामा आएको भीषण बाढीले सडक, पुल र घरहरूमा क्षति पुर्याएको थियो । साँझपख ठाडो खोलाको पहिरो र लेदोले मस्र्याङ्दी नदी ठप्प थुनिएपछि चामे बजार नै खाली गरेर स्थानीय नागरिकहरू ज्यान जोगाउन सुरक्षित स्थानतर्फ भागेका थिए ।
भर्खरै रसुवाको भोटेकोशी बाढीको भयावह दृश्य देखेका र वि.सं. २०७८ सालको बाढी बितण्डा भोगेका चामेवासीले डरका कारण जङ्गल, सिटी हल र नेपाली सेनाको गणमा भोकभोकै रात बिताएका थिए ।
मर्स्याङ्दीको डुबानका कारण अझै पनि २–४ वटा घर डुबानमै छन् । सोमबार बिहानैदेखि मनाङको आकास पूर्ण रूपमा खुलेको र कालो बादल हटेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

खोलाहरूमा बाढीको बहाव पनि घटेको छ । थुनिएको मर्स्याङ्दी नदीको अवस्था अझै यथावत् छ । यद्यपि, बनेको तालको सतह थप नबढेकाले ठूलो संकट टरेको छ । सडक सम्पर्क टुटेका कारण तत्काल एस्काभेटर ल्याउन सम्भव नभएकाले वैकल्पिक माध्यमबाट नदी खुलाउने बारे प्रशासन र गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेबिच छलफल भइरहेको छ ।

प्रशासनले मौसम खुले पनि नदी किनार र जोखिमयुक्त क्षेत्रमा बस्ने नागरिकहरूलाई अझै केही दिन सचेत र सतर्क रहन अपिल गरेको छ ।





