लमजुङ - मर्स्याङ्दी गाउँपालिका–६ मा निर्माणाधीन सुपर ङादी हाइड्रोपावर कम्पनीमा कार्यरत एक कामदारको भीरबाट खसेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको सप्तकोशी नगरपालिका–८ का ३७ वर्षीय रमेश कुमार चौधरी रहेका छन् ।
सोमबार बिहान पौने ११ बजेतिर आयोजनाकै काममा खटिएका बेला चौधरी कार्यस्थल नजिकैको भीरबाट करिब २० मिटर तल खसेका थिए । भीरबाट खसेर गम्भीर भएका उनलाई तत्काल उद्धार गरी प्रदेश अस्पताल लमजुङ ल्याइएको थियो ।
अस्पतालको चिकित्सकले उनलाई दिउँसो सवा २ बजेतिर मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
कम्पनीमा कार्यरत कामदारहरूको सुरक्षामा गम्भीर लापरबाही देखिएको छ । आयोजना स्थलमा सुरक्षाका न्यूनतम उपाय (सेफ्टी मेजर्स) समेत अवलम्बन नगर्दा तीन दिनको अन्तरालमै दुई जना कामदार भीरबाट खसेरका हुन् ।
गत असोज १७ गते शनिबार दिउँसो साढे २ बजे आयोजनामा काम गर्ने क्रममा दाङको तुलसीपुर उपमहानगरपालिका–८ घर भएका ३२ वर्षीय रविन बस्नेत ६० मिटर तल भीरमा खसेका थिए । आयोजना स्थलभन्दा करिब १ किलोमिटर माथि त्रिपाल लिन जाने क्रममा उनी बाटोबाट सन्तुलन गुमाएर सिधै भीरको खोंचमा खस्न पुगेका हुन् ।
उनलाई तत्कालै उद्धार गरी प्रदेश अस्पताल लमजुङ ल्याइएको थियो । उनको छाती र बायाँ हातमा गम्भीर चोट लागेको चिकित्सकहरूले बताएका छन् । उनको अस्पतालमै उपचार भइरहेको छ ।




