TagaroNews
किरा संकलनमा रोकः मुख्य कारोवारी चिनियाँ ठेकदारको भएन खोजी ? [फलोअप]

लमजुङ – जिल्ला स्थित मर्स्याङ्दी नदी किनारमा चिनियाँ ठेकदारद्धारा स्थानीयलाई प्रयोग गरी हप्तौसम्म नदीजन्य किरा संकलन कार्य चल्यो । खुलेआम रुपमा पतेरा प्रजाति जस्तो देखिने (कालो गनाउने किरा) संकलन गरी दैनिक बोराको बोरा कारोबार गर्दासमेत सम्बन्धीत निकायको आँखा सम्म परेन । वा, मानौ थाहा पाएर पनि मौन रहे । 

मर्स्याङ्दी गाउँपालिका–३, अर्खलेबेसी देखी बेसीशहर नगरपालिका ६ र १० वडाको सिमाक्षेत्र मर्स्याङ्दी नदी किनारमा हप्तौदेखी किराको संकलन भइरहेको सूचना पाएसँगै तगारो न्यूजले सोमबार लमजुङमा चिनियाँ ठेकदारद्धारा खुलेआम नदीजन्य किराको कारोबार, सम्बन्धीत निकाय मौन शिर्षकमा समाचार प्रकाशित गर्यो । 

समाचार प्रकाशितसँगै प्रशासनले किरा संकलनमा रोक लगायो । तर, किराको मुख्य कारोवारी चिनियाँ ठेकदारको खोजीमा भने कसैको ध्यान सम्म पुगेन । 

यतिमात्र होइन, मर्स्याङ्दी नदीबाट कति किरा संकलन भयो ? स्थानीयलाई किरा संकलनमा प्रयोग गरि नेपाली ठेकदारबाट चिनियाँ ठेकदारसँग कतिमा किनबेच भयो ? किन किनबेच हुँदैछ ? यति धेरै परिमाणमा किन चिनियाँ ठेकदारले किरा लैजादैछ भन्ने अनुसन्धानमा  कसैको ध्यान नै पुगेन । 

किराको विषयमा प्रहरी प्रशासन, अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र सम्बन्धीत पालिकालाई नियन्त्रणको लागि जानकारी गराइसकेको डिभिजन वन कार्यालय लमजुङका प्रमुख दिपक प्रसाद पण्डितले बताए । उनले भने, ‘यस बिषयमा सम्बन्धीत निकायलाई जानकारी गराइसकेका छौँ । मुख्य कारोबारी चिनियाँ ठेकदारको खोजी समेत भइरहेको छ ।’ 

किरा संकलन भइरहेको क्षेत्रमा प्रहरी निगरानी बढाएको प्रमुख जिल्ला अधिकारी बुद्ध बहादुर गुरुङले बताए । उनले भने, ‘यो विषयमा एक्यापले पनि चासो लिएको छ । यो किरा के हो, कुन प्रायोजनका लागि चिनियाँ ठेकदारले कारोबार गर्दैछ र कहाँ निर्यात गर्छ भन्ने विषयमा अनुसन्धानमा छौँ ।’

यता हेर्दा ठूलो परिणाममा किरा बाहिरिसकेको अवस्था छ । नदीमा यो किसिमको किरा नै पाउन छोडेको अवस्थामा संकलनमा रोक लगाउनुको खासै औचित्य देखिन्न् । तर, मुख्य कारोबारीको खोजीमा सम्बन्धीत निकायले कत्तिको तादुरुकता देखाउला त, त्यो भने हेर्न बाँकी नै छ । 

यो पनि..

लमजुङमा चिनियाँ ठेकदारद्धारा खुलेआम नदीजन्य किराको कारोबार, सम्बन्धीत निकाय मौन

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update