TagaroNews
लमजुङमा ‘अफ्रिकन स्वाइन फिभर’ फैलन नदिन उच्च सतर्कता

लमजुङ –  जिल्लामा  ‘अफ्रिकन स्वाइन फिभर’ फैलन नदिन उच्च सतर्कता अपनाउन थालिएको छ । सीमा जोडिएका छिमेकी जिल्लामा सुँगुर, बंगुर र बँदेलमा देखिने अफ्रिकन स्वाइन फिवर रोग पुष्टि भएपछि जिल्लामा उच्च सतर्कता अपनाउन थालिएको हो । 

जिल्लासँग सिमाना जोडिएका तनहुँ, कास्की लगाएतका जिल्लामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणबाट ठूलो सङ्ख्यामा बङ्गुर मरेका छन् । जिल्ला प्रशासन कार्यालयले छिमेकी जिल्लामा सङ्क्रमण देखिएपछि लमजुङभित्र ओसारपसारमा कडाई गरेको छ । 

यो रोगको समयमै रोकथामका लागि बाहिरी जिल्लाबाट लमजुङ भित्र सुँगुर र बंगुर ओसारपसार गर्दा अनिवार्य रुपमा स्वास्थ्य प्रमाणपत्र लिएर मात्र ओसारपसार गर्न प्रशासनले भनेको छ । 

आइतबार एक सूचना जारी गर्दै प्रशासनले यसबारे सचेत गराएको हो । बंगुर पालक कृषकहरुले आफ्नो फार्ममा जैविक सुरक्षाका विधिहरू अनिवार्य अवलम्बन गर्न प्रशासनले अनुरोध गरेको छ ।

रोग प्रभावित जिल्लासँग सिमाना जोडिएका मध्यनेपाल, सुन्दरबजार र राइनास नगरपालिका क्षेत्रमा स्थलगत अध्ययन र थप सर्भिलेन्स तथा सचेतना कार्य जारी रहेको प्रशासनले जनाएको छ ।

प्रशासनद्धारा जारी सूचनामा भनिएको छ् ‘यो रोग पशुबाट मानिसमा सर्दैन । तर, यो रोग सुँगुर, बंगुर तथा बँदेलमा विषाणुको कारण लाग्ने उच्च मृत्युदर भएको छिटो फैलिने सरुवा रोग हो । सो कारण आवश्यक सावधानी अपनाउनुहुन जिल्लावासीमा अनुरोध छ ।’ जिल्लामा यो रोग फैलन नदिन नाकाहरुमा कडाइ गरिएको छ । 

यो रोग सङ्क्रमित सुँगुर र बङ्गुरबीच प्रत्यक्ष सम्पर्कबाट, रोगी बङ्गुरको र्‍याल, मलमुत्र, रगत, मासु र लसपस भएको दानापानीबाट, त्यस्ता बिरामी बङ्गुरको ओसारपसार वा किनबेच गर्दा, सङ्क्रमण भएको खोरमा काम गर्ने कामदार वा  सङ्क्रमण भएको खोरमा गएको मानिसले प्रयोग गरेको लुगाकपडा, जुत्ताचप्पल आदिको प्रयोगबाट पनि सर्ने गर्दछ । 

यो रोग लागेका बङ्गुरहरु एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा निला डाम देखापर्ने, कानका टुप्पामा रगत जमेका धब्बा देखिने, नाकबाट फिँज निकाल्ने, उच्च ज्वरो (१०४ देखि १०७ डिग्री फरेनहाइट) आउने, कान, पुच्छर र पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, झोक्राउने, दानापानी खान छोड्ने, बान्ता गर्ने, छटपटाउने, धरमराउने र बच्चा तुहिनेजस्ता लक्षण देखा पर्दछ ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  २०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update