
लमजुङ – जिल्लामा अझै पनि द्धन्द्धकालीन बमहरु फेला परिरहेका छन् । बैशाख पहिलो र दोस्रो साता सदरमुकाम बेसीशहरमा फरक–फरक स्थानमा द्धन्द्धकालीन बम फेला परेको छ ।
बैशाख पहिलो साता बेसीशहर नगरपालिका–८ स्थित जिल्ला प्रहरी कार्यालयदेखि अगाडि (एक सय मिटर तल) पूर्वतर्फ सडक विस्तारका लागि जेसिवीले बाटो खन्ने क्रममा जमिनमा गाडिएको अवस्थामा पाइप बम फेला परेको हो ।
तीन फिट लम्बाई र दुई इन्च गोलाइको जिआई पाइपमा दुई वटा तार जडित शङ्कास्पद वस्तु फेला परेको र अनुसन्धान गर्दा पाइप बम रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराले बताए ।
सो बम मर्स्याङ्दी नदी किनारमा लगी नेपाली सेनाको चण्डीप्रसाद गण उदिपुरबाट आएको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको थियो ।
सो बम फेला परेको केही समयपश्चात जिल्ला प्रहरी कार्यालयको हातमभित्रै द्धन्द्धकालीन सकेट बम फेला परेको छ । प्रहरी कार्यालयको पूर्वतर्फको सीमामा ग्याभिन पर्खाल उठाउने क्रममा खाल्डो खन्दा चार इन्च लम्बाई र दुई इन्च गोलाईको सकेट बम फेला परेको हो ।
सो सकेट बम फेला परेको स्थान सुरक्षीत गरी चण्डीप्रसाद गणकै बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको हो ।
द्धन्द्धकालमा सुरक्षा समूहले विभिन्न स्थानमा यस्ता बमहरु राखेको र अहिले जमिन खन्ने क्रममा बमहरु फेला परेको हुनसक्ने प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयको सीमा वरपर यस्ता द्धन्द्धकालीन बमहरु फेला पर्न सक्ने हुँदा जमिन खन्ने क्रममा ख्याल राख्नुपर्ने देखिन्छ ।