TagaroNews
मनाङ नाम्के खर्कमा यार्सा खोज्न गएका युवकको भिरबाट लडेर मृत्यु
सुरक्षाकर्मी डोरीको सहायताले घट्नास्थल तर्फ जाँदै ।

मनाङ – नार्पाभूमि गाउँपालिका–२, नाम्के खर्कमा यार्सागुम्बा संकलनका लागि गएका एक युवकको भिरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ जिल्ला गङ्गाजमुना गाउँपालिकाका–१, बस्ने ३२ वर्षीय आकाश तामाङ रहेका छन् । 

शुक्रबार भिरबाट लडेर मृत्यु भएका तामाङको अहिलेसम्म शव निकाल्न सकिएको छैन् । शव निकाल्नका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली घटनास्थल तर्फ लागेको छ ।  

सदरमुकाम चामेबाट कम्तिमा १० घण्टाको पैदल दुरीमा घटनास्थल रहेको सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले बताए । उनले भने, ‘तीनवटै सुरक्षा निकायका टोली घट्नास्थल तर्फ जाँदै छन्, डोरीमा झुण्डिएर यात्रा गर्नुपर्ने बाध्यता छ । अबको केहि घण्टामै युवकको शव निकाल्ने कार्य अघि बढ्नेछ ।’

मनाङका लेक तथा खर्कहरूमा वैशाख दोस्रो साताबाट यार्सागुम्बा सङ्कलन कार्य सुरु भएको थियो । एक्यापले यार्सागुम्बा सङ्कलनका लागि स्वीकृति दिएपछि मात्रै सङ्कलन गर्न खर्क पस्न पाइन्छ । 

मनाङसँगै लमजुङ, गोरखा र धादिङका स्थानीय यार्सागुम्बा सङ्कलन गर्न मनाङका लेक पुग्छन् । मनाङको नाम्के खर्क, किन्चो लेक, याक खर्क, पिसाङ लेक, फु लेकलगायतका खर्कमा यार्सागुम्बा बढी पाइने स्थान हुन् । असारको पहिलो सातासम्म यार्सागुम्बा सङ्कलन कार्य सकिन्छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update