TagaroNews
रैथाने बाली संरक्षणका लागि मध्यनेपालमा प्रदर्शनी 

लमजुङ – मध्यनेपाल नगरपालिका–५, समीभन्ज्याङमा रैथानी कृषि बालीको प्रदर्शनी गरिएको छ । रैथाने बाली तथा जातलाई प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र अन्तर्गत (अन फार्म प्रोजेक्ट) नार्कको आयोजना र मध्यनेपाल वडा नंं. ५ को सहकार्यमा शुक्रबार जैविक विविधता मेला तथा कृषि उपजको प्रदर्शनी गरिएको हो । 

मेलामा १२ वटा स्टलमा कृषक समूहले रैथाने कृषि बालीको प्रदर्शन गरे । स्टलमा कागुनो, जुनेलो, कोदो, जौ, फापर, भट्ट, मकै, मस्याङसँगै दलहन बाली तथा विभिन्न प्रजातिका रैथाने बाली, जंगली खाद्यबस्तु, जडिबुटि, पशुपंक्षी र खाद्य परिकार समेत प्रदर्शनीमा राखिएका थिए । 


प्रर्दशनीमा सहभागी समूहले थोरैमा ५६ प्रजाती र धेरैमा २ सय १२ थरीका रैथाने बालीको प्रदर्शनी गरेको राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रका कृषि प्राविधिक शान्ति गुरुङले बताइन् । 

स्थानीय स्तरमा उत्पादन हुने रैथानी बालीको संरक्षण र तिनको प्रवर्द्धनका लागि कार्यक्रम आयोजना गरिएको केन्द्रका प्राविधिक अधिकृत प्रदिप थापाले बताए । उनका अनुसार मेलामा रैथाने बालीको प्रदर्शनीसँगै रैथाने कृषि विविधतामा उत्कृष्ट हुने ३ वटा समूहलाई पुरस्कृत समेत गरिएको छ ।

मेलामा उत्कृष्ट प्रदर्शनी गरेर नागभैरव मौरीपालक कृषक समूह प्रथम, लाफा कृषक समूह द्धितिय र सिम्ले कृषक समूह तृतिय भए । उनीहरुलाई मध्यनेपाल नगरपालिकाका प्रमुख रमेश कुमार पाण्डेले नगद सहित पुरस्कृत गरे । 

रैथाने बाली लोप हुँदै गएको अवस्थामा तिनको संरक्षणका साथसाथै स्वास्थ्यबद्र्धक खानाका लागि पनि प्रदर्शनी तथा कार्यक्रमले सकारात्मक भूमिका निर्वाह गरेको नगर प्रमुख पाण्डेले बताए । कृषि उपजको आयात बढिरहेको अवस्थामा देशभित्रै तिनको उत्पादन र उत्पादकत्व बढाउन जोड दिनुपर्ने उनको भनाई थियो । 

‘जीवन तथा वातावरणका लागि रैथाने कृषि’ नाराका साथ आयोजना गरिएको उक्त मेलामा कृषिकर्मी, विद्यार्थी, शिक्षक, कर्मचारी लगाएतले अवलोकन गरे । 

रैथाने बालीको संरक्षण र उत्पादकत्व वृद्धिका लागि यस्ता मेलाले महत्वपूर्ण भूमिका खेल्ने वडा अध्यक्ष ओमविर गुरुङले बताए । किसानहरूको मागअनुसार स्थानीय तहले यस्ता कार्यक्रमलाई निरन्तरता दिन विशेष पहल गर्नुपर्ने देखिएको छ।

प्रकाशित मिति: शनिबार, जेठ ४, २०८२  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update