TagaroNews
लमजुङ : दर्ता बिनै विद्यालय, बालबालिकामाथि खेलवाड 

लमजुङ – जिल्लामै खुलेआम रुपमा अवैध तवरले निजि विद्यालय सञ्चालन गरेको भेटिएको छ । बेसीशहर नगरपालिका–२, तालफाँटमा रहेको ब्राईट फ्युचर एकेडेमीमा अवैध रुपमा कक्षा सञ्चालन भइरहेको हो । 

अवैध तवरले विद्यालय कक्षा सञ्चालनमा ल्याएर बालबालिकाको भविष्यमाथि खेलवाड गर्दा समेत सम्बन्धित निकायले न कुनै अनुगमन गर्न सकेको छ, न त कारर्बाही नै ।  त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्य कस्तो हुने हो, पछि आउने समस्याको दोषी को हो ? यसको सवाल विद्यालय सञ्चालक, विद्यालय अनुगमन गर्ने निकाय, विद्यालय दर्ता गर्ने नगरपालिका वा अभिभावक कसैलाई पत्तो छैन ।

चिन्ता त त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्यको छ । २०७६ साल देखि दर्ता विना नै चल्दै आएको यस एकेडेमीले गत बैशाख ३१ गते बल्ल कक्षा १ सम्मको नगरपालिकासँग अनुमति लिएको छ । तर, कक्षा ३ सम्म विद्यार्थी भर्ना लिएर पढाइरहेको छ । यता, जिम्मेवार निकाय नगरपालिका भने यस विषयमा बेखबर छ ।

दर्ता बिनै विद्यालय कक्षा किन सञ्चालनमा ल्याएको भन्ने हाम्रो प्रश्नमा विद्यालयका सञ्चालक सिवेन्द्र कडेँल भन्छन् ‘पहिला वडा कार्यालयसँग अनुमती लिएर मन्टेश्वरी चलाइहेको हो, अहिले पालिकाको शिक्षा समितिले निर्णय गरेर कक्षा १ सम्मको अनुमति दिएको छ । अन्य कक्षाको अनुमति ल्याउन बाँकी छ । बिस्तारै त्यो पनि मिल्छ ।’

एकैपटक किन कक्षा ३ सम्म अनुमती ल्याइएन भन्ने प्रश्नमा उनले थपे, ‘पहिले कक्षा ९ सम्म नै अनुमती ल्याउन पाइन्थ्यो, अहिले पाइदैन । समस्या आयो भने, म मिलाउँछु । त्यो मिल्छ ।’

वैध र अवैधबारेको प्रश्नमा उनले थप भने, ‘वैधानिक बनाउँछौ नि हामी, सञ्चालक भइसकेपछि त्यति त गर्न पर्यो नि, मैले अन्य बोर्डिङमा समेत लामो समय काम गरेको छु, म मिलाउँछु ।’

यता नगरपालिकाका शिक्षा शाखा प्रमुख एवं सूचना अधिकारी किसान राज चिलुवालले सो एकेडेमीलाई कक्षा १ सम्म सञ्चालनको अनुमती भएको बताए । उनले भने, ‘शिक्षा समितिको निर्णयले सो एकेडेमीलाई कक्षा १ सम्म सञ्चालनको अनुमती दिएको छ । सो बाहेकका कक्षा सञ्चालन गर्न मिल्दैन । नियमले पनि दिँदैन । सो कार्य गरेको खण्डमा हामीले अनुमती बाहेकका कक्षा बन्द गर्नेछौँ ।’

यस विद्यालयमा प्लेग्रुप देखी कक्षा ३ सम्म ८० बालबालिका अध्ययनरत छन् । 

भर्ना भएका विद्यार्थी अवैध 
कक्षा १ सम्म सञ्चालन अनुमती लिएको सो एकेडेमीले अवैध रुपमा ३ कक्षा सम्म सञ्चालन गर्दै आएको छ । नियम बमोजिम कक्षा १ सम्म भर्ना भएका विद्यार्थी त वैध भए । तर, अवैध रुपमा कक्षा २ र ३ सञ्चालनमा रहेको यस एकेडेमीमा सो कक्षा मा पढ्ने विद्यार्थी पनि अवैध नै देखिन्छन् । 

विद्यार्थी भर्ना त भयो, अनुमती विना कक्षा त सञ्चालन गरियो । तर, अवैध कक्षामा भर्ना भएर विद्यालय आइरहेका विद्यार्थीलाई नियम ढंगले पनि अवैध नै भन्छ । जसले गर्दा ति विद्यार्थीको भविष्य माथि सिधै खेलवाड भएको देखिन्छ । 

मन्टेश्वरीको नाममा मनपरी 
बालबालिकाले खेल्दै, चल्दै, दौडिंदै विभिन्न किसिमका जीवनोपयोगी शिक्षा तथा व्यवहार सिक्न सक्ने प्रयोगशाला नै सामन्य भाषामा मन्टेश्री स्कुल हो । तर, उक्त ब्राईट फ्युचर एकेडेमीमा जस्ताको छाना मुनि चिसो भुइँमा बालबालिकाहरुलाई सुताइन्छ । 

फोहोर र अध्यारो कक्षाकोठामा पढाइन्छ । खाजामा सादा दाल र साह्रो भात समेत खुलाइन्छ । मन्टेश्वरीको भवन ट्राफिकको जोखिम नभएको हुनुपर्नेमा यस एकेडेमी डुम्रे–बेसीशहर सडकसँगै जोडिएर सञ्चालनमा छ । 

मन्टेश्वरी सञ्चालन गर्दा बालबालिकाको स्वास्थ्य अनुकूल तापक्रम भएको, फराकिलो, खुला, शान्त, सुरक्षित भवन र खेल मैदान हुनुपर्छ । बालउद्यान, सफा र स्वच्छ खानेपानी, खाजा खुवाउनेसहितको भान्छा घर, श्रव्य दृश्य तथा अन्य सिकाई सामग्रीको पर्याप्तता, सुरक्षाका उचित प्रबन्ध रहेको हुनुपर्छ । तर, यहाँ यी मापदण्ड नै देखिन्न् ।  

मन्टेश्वरी शिक्षाले बालबालिकामा सामाजिक, मनोवैज्ञानिकका साथै व्यवहारमा समेत फरकपन ल्याउने हुनुपर्छ । तर, यहाँ सिकाइ उपलब्धिबारे कसैले चासो दिएको देखिन्न् ।

यी त प्रतिनिधि विद्यालय मात्र हुन् । शिक्षाका नाममा बालबालिकाको भबिष्यमाथि खेलवाड गर्दै विद्यालयलाई यसरी आफनो कमाईखाने माध्यम बनाउने धेरै छन् । पालिकाले कडा निर्देशीका र मापदण्ड बनाएर खोजीनिति नगर्ने हो भने, शिक्षामा नाममा यस्ता बेथितिअझै बढ्दै जाने निश्चित छ । यस विषयमा हामी निरन्तर फलोअप गर्नेछौँ ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update