
लमजुङ – नेपाली कांग्रेसको भातृ संस्था तरूण दल लमजुङको अधिवेशनका क्रममा भएको विवादमा खुकुरी हान्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लमजुङ मध्यनेपाल नगरपालिका–६ घर भएका ४२ वर्षीय किरण गुरुङ रहेका छन् ।
पक्राउ परेका गुरुङमाथि बुधबार जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग सम्बन्धी कसूर मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजकिशोर शाहले बताए ।
जेठ ३ गते बेसीशहर–८ स्थित प्रगतिटोल तमु समूह भवनमा भएको तरुण दल लमजुङको ५औँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा खुकुरी प्रहार भएको थियो ।
सो घट्नामा बेसीशहर नगरपालिका–९ का वडाअध्यक्ष समेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजंग गुरुङ, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारी लगाएत घाइते भएका थिए ।
तरुण दल लमजुङमा पूर्णकालीन सदस्यबारे बिबाद रहेको थियो । उक्त घटनामा संलग्न अन्यको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
सो अधिवेशनमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं तरुण दलका पूर्व अध्यक्ष जीतजंग बस्नेत, तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङ, नेपाली कांग्रेस जिल्ला सभापति एवं गण्डकी प्रदेश आर्थिक मामिलामन्त्री डा.टकराज गुरुङ, वनमन्त्री भेषबहादुर पौडेलसमेत सहभागी थिए ।