
लमजुङ – गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ नियमावलीको विरोधमा यातायात व्यवसायीले लमजुङ सहित गण्डकी प्रदेशभर सार्वजनिक यातायात ठप्प पारेका छन् ।
सार्वजनिक यातायात सञ्चालकहरूले शुक्रबार आफ्ना गाडीहरू घर र ग्यारेजमा थन्क्याएर सरकारी निर्णयको विरोध गरेका हुन् । प्रदेश सरकारले चैत ३१ गतेको मन्त्रिपरिषद् बैठकबाट राइड सेयरिङ सम्बन्धी नियमावली पारित गरेको थियो ।
प्रदेशभर गुड्ने करिब १५ हजार भन्दा बढी गाडीहरू अहिले घर र ग्यारेजमा थन्क्याएर राखिएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसीले बताए । उनका अनुसार ३० भन्दा बढी समितिहरू विरोधमा सक्रिय छन् ।
आन्दोलनको कार्यक्रम अन्तर्गत जेठ १८ गतेसम्म प्रदेशभरी सार्वजनिक यातायात ठप्प पार्ने निर्णय व्यवसायीहरूले गरेका छन् । यसैगरी १८ गते ८ वटा घटक संगठनले माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दैछन् ।
सरकार प्रारम्भिक विरोधबाट पनि पछि नहटे १९ गतेदेखि देशैभर यात्रुवाहक र मालवाहक गाडीहरू ठप्प पार्ने केसीले जानकारी दिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा सुरु भएको आन्दोलनका कारण यात्रुहरू भने मर्कामा परेका छन् ।
यता व्यवसायीले विरोध जनाएपछि सरकारले वार्ता समिति बनाएको छ । मन्त्रालयका सचिव कमल कुमार अधिकारीको संयोजकत्वमा १३ गते नै समिति गठन भएपनि व्यवसायीहरू वार्तामा जान मानेका छैनन् ।
यातायात व्यवस्था ऐन २०४९ मा निजी सवारीले भाडाका यात्रु बोक्न नपाउने व्यवस्था छ । राइड सेयरिङलाई वैध बनाउने प्रयास देशैभर भइरहेको छ । यस विरुद्ध सर्वोच्चमा रिट परेपछि रोकिएको थियो । गत वर्ष असारमा अदालतले सबै प्रकारका सवारीले यात्रु बोक्न पाउने गरी आदेश दिएको थियो ।