
लमजुङ – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनले मनोमानी तबरबाट शुल्क बृद्धि गरेपछि बेसीशहरका अभिभावकहरुले बिरोध जनाएका छन् ।
बेसीशहर नगरपालिकामा रहेका निजी विद्यालयले विभिन्न शीर्षकमा विद्यार्थीसँग मनोमानी शुल्क असुलेको भन्दै अभिभावकहरुले विरोध जनाएका हुन् ।
अभिभावकहरुले प्याब्सनको मनोमानी बिरुद्ध मंगलबार प्रमुख जिल्ला अधिकारी, बेसीशहर नगरपालिकाका नगर प्रमुख र शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखलाई एक पत्र मार्फत ध्यानाकर्षण गराउँदै यथाशिघ्र छानविन र आवश्यक कारबाहीको माग गरेका छन् ।
निजी विद्यालयहरुले मनोमानी तवरबाट स्कूल फि र स्कुल बस भाडा बृद्धि गरेको एक अभिभावकले बताए । उनले भने, ‘स्कुल बस भाडा पहिले ७ सय ५० थियो, अहिले बढाएर एक हजार ५ सय पुग्यो । स्कुल फि त्यस्तै महंगो, पैसा लिने शीर्षक त, के–के हुन् के–के । यसरी त हामी अभिभावकको ढाड सेक्ने काम भएन र ? उनले प्रश्न गर्दै भने ।
निजी विद्यालयले चोरबाटोबाट शुल्क वृद्धि गर्दा अभिभावकहरु चर्को व्ययभारमा परेको उनीहरुको आरोप छ । अभिभावकहरुले सम्पूर्ण निजी विद्यालयहरुले शुल्कमा एकरुपता कायम गर्नुपर्ने माग गरेका छन् ।